नेपाली सेनाको ‘चिफ कन्क्लेभ’ मा यी पाँच जना भारतीय सेनाका पूर्व सेनाध्यक्ष सहभागी हुने

नेपाली सेनाले एकदशकपछि फेरि एकपटक भारतका हालका सेनाध्यक्षसहित अवकाशप्राप्त मानार्थ महारथीहरुलाई काठमाडौंमा निम्ताएको छ । सैनिक उच्च अधिकारीहरुका अनुसार मंगलबार अबेर रातिसम्म भारतीय सेनाका अवकाशप्राप्त पाँच जना जनरलहरु नेपाल आउने जानकारी नेपाली सेनाले पाएको छ ।

भारतीय सेनाका हालका सेनाध्यक्ष जनरल मनोज पाण्डे आउने वा नआउने भन्ने विषय अझै पर्खाइमै रहे पनि भर्खरै अवकाश पाएका जनरल मनोजमुकुन्द नरवणेसहित अन्य चार जना आउने जानकारी सेनाले पाएको हो ।

सेना दिवसको विशेष समारोह (६ फागुन) र त्यसको भोलिपल्ट (७ फागुन) मा आयोजना हुने कन्क्लेभमा सहभागी हुन जनरल नरवणेसहित जनरलहरु दलवीरसिंह सुहाग, दीपक कपूर, जोगिन्दर जसवन्त सिंह (जेएस) र विश्वनाथ शर्मा ५ फागुनमा काठमाडौं आउँदैछन् । उनीहरु ८ फागुनमा निर्धारित कार्यक्रमपछि भारत फर्कनेछन् ।

सेना दिवसका दिन नेपाली सेना स्थापना भएको २ सय ६० वर्ष पूरा हुँदैछ ।

नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी हुन्छन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ ।

कन्क्लेभमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरू, नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरूसहित नेपालमा रहेका राजदूतावासका सैनिक सहचारी उपस्थित रहने सेनाले जनाएकाे छ ।

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाश प्राप्त प्रधानसेनापतिलाई बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ । नेपालले चिफ्स कन्केल्भ पहिलो पटक गर्न लागेको भए पनि सेना दिवसमा तत्कालिन प्रधानसेनापति गौरवशमशेर राणाको कार्यकालमा यसरी नै मानार्थ महारथीहरुलाई निम्ताइएको थियो ।

सेनाले चिफ कन्केल्भमा क्षेत्रीय सुरक्षा सहकार्य, सुरक्षा चुनौती, विपत् तथा आपतकालीन अवस्थामा सैनिक सहकार्य र बद्लिँदो सुरक्षा चुनौतीका विषयमा छलफल गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर