नक्कली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा तीन जना पक्राउ

लिखत कीर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया कञ्चन गुरुङ, नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं टोखा बस्ने ३८ वर्षीय अनिल राई र नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर बस्ने ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये कञ्चन गुरुङलाई माघ २९ गते काठमाडौं रामशाहपथबाट तथा अनिल राईलाई सामाखुशीबाट र राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरेको हो ।

कञ्चनले आफ्नो फोटो, अर्कै व्यक्तिको सक्कली सवारी चालक अनुमतिपत्र र ५ हजार रुपैयाँ अनिललाई दिएकोमा अनिलले उक्त फोटो, कागजात र ३ हजार ५ सय रुपैयाँ राजनलाई दिएको र राजनले उक्त सवारी चालक अनुमतिपत्रमा कञ्चनको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि लिखतसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ भई मुद्दा चलेका राजनले अन्य व्यक्तिलाई समेत नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको थाहा भएको छ ।

उनीहरूउपर लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *