यती विमान दुर्घटना : अन्तिम १ मिनेटमा जे भयो

पोखरामा गत माघ १ मा दुर्घटना भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटना जाँच आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको थियो, यो अवस्थामा जहाज अगाडि बढ्न नसक्ने हुँदा सेती खोंचमा झरेको थियो । यस्तो हुनुमा इन्जिनकै खराबी थियो वा मानवीय कमजोरी भयो भन्नेबारे विस्तृत प्रतिवेदनले देखाउने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । यस्तै अवतरण गर्ने मार्गमै केही समस्या भयो भन्ने पनि थप अध्ययनबाट खुल्ने भएको छ ।

उक्त दिन बिहान १०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३११ फिटको उचाइमा ओर्लिएको थियो । ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग ‘थ्री जीरो’बाट अवतरण गर्न अनुमति दिए पनि पाइलटले उत्तरतर्फको रनवे ‘वान टू’बाट जहाज अवतरण गराउने गरी अनुमति मागेका थिए । पाइलटले यस्तो अनुमति किन मागे भन्ने खुलेको छैन ।

दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । सोही दिन सरकारले डेढ महिनाको कार्यावधिसहित पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

आयोग सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील प्रधान, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

दुर्घटना हुनुभन्दा १ मिनेट अघि केके भयो त ? यस्तो छ प्रारम्भिक प्रतिवेदनको निष्कर्ष :

१०ः५६ः२७ बजे– पाइलट (त्यो समय अन्जु खतिवडा) ले अटोपाइलट अफ गरेर फ्ल्याप्स ३० गर्न खोजेको तर फ्ल्याप्सको कुनै मुभमेन्ट नदेखिएको ।

१०ः५६ः३६ बजे– इन्जिनका प्रोपेलर फेदरिङ (ब्लेडहरु छड्के नभई सिधा अवस्थामै रहेको) ।

१०ः५६ः५० बजे– विमान ५०० फिटको उचाइमा पुगेको र विमानको अधिकतम ब्यांक एंगल ३० डिग्रीमा पुगेको ।

१०ः५७ः०७ बजे– एटीसीले ल्यान्डिङ क्लियरेन्स दिएको तर पाइलटले दुईपटक इन्जिनबाट पावर नआएको बताएको ।

१०ः५७ः१८ बजे– खतराको संकेत प्राप्तपछि को–पाइलट अन्जु खतिवडाले क्याप्टेन कमल केसीलाई नै पाइलटको जिम्मेवारी सुम्पिएको ।

१०ः५७ः२० बजे– पाइलट कमल केसीले पनि इन्जिनबाट पावर नआएको कुरा दोहो¥याएको ।

१०ः५७ः२४ बजे– विमानको एंगल अफ एट्याक (एओए) अधिकतम भइसकेको चेतावनी आएको ।

१०ः५७ः२६ बजे– विमान देब्रेतिर ढल्किँदै गएपछि पुनः चेतावनी आएको ।

१०ः५७ः३२ बजे– विमान जमिनमा ठोक्किएको आवाज आएको ।

१०ः५७ः३३ बजे– फ्लाईट डाटा रेकर्डर (एफडीआर) ले रेकर्डिङ बन्द गरेको ।

१०ः५७ः३५ बजे– ककपिट भ्वाइस रेकर्डर (सीभीआर) ले पनि रेकर्डिङ बन्द गरेको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर