दिल्ली-मुम्बई एक्सप्रेस वे : यसरी बन्दै छ भारतीय विकासको नयाँ आधार

भारतको राजधानी दिल्ली र आर्थिक केन्द्र मुम्बई जोड्न रेलले १५ सय किलोमिटरभन्दा बढी दूरी पार गर्नुपर्छ । यसका लागि १६ घन्टा लाग्छ । सडक यात्राबाट त अझ २४ घन्टा खर्चिनुपर्छ ।

तर, भारतीय सरकारको एउटा ठूलो आयोजनाले भने यो यात्रा अवधिलाई झारेर १२ घन्टामा पु¥याएको छ । त्यो आयोजना हो, दिल्ली–मुम्बई एक्सप्रेस वे । केन्द्रीय सडक तथा परिवहन मन्त्री नितिन गडकरीले ९ मार्च २०१९ मा शिलान्यास गरेको यो आयोजनाको पहिलो चरणमा काम सकिएर सवारीसाधन पनि चल्न थालेको छ ।

गत मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त एक्सप्रेस वेको पहिलो खण्ड २४६ किमी (दिल्ली–दौसा–लालसोट) को उद्घाटन गरेका छन् । उक्त खण्ड मात्र भारतीय रुपैयाँ १२ हजार १ सय ५० करोडमा तयार भएको हो । यो खण्ड चालू भएपछि अब दिल्लीबाट जयपुर यात्रा ५ घन्टाबाट घटेर साढे ३ घन्टामा पुगेको छ । साथै, सडक क्षेत्रमा पर्ने स्थानमा आर्थिक विकास हुने अपेक्षा गरिएको छ ।

भारतीय सरकार तथा केन्द्रीय मन्त्री गडकरीले अघि सारेको यो महत्वपूर्ण आयोजनाले व्यक्तिको यात्रा समय बचत, सहज यात्रा र देशका थुप्रै राज्यको विकासमा कसरी मद्दत पुर्‍याउँदै छ त ?

भारतको सबैभन्दा लामो सडक

हरियाणा, राजस्थान, मध्य प्रदेश र गुजरात हुँदै गुज्रिने यो सडकको लम्बाइ १ हजार ३ सय ८६ छ । यो भारतको सबैभन्दा लामो सडक पनि हो । यसको लागत करिब १ लाख करोड भारु रहेको छ । भारतीय सरकारको एक दूरदर्शी यो परियोजनाले देशका दुई आर्थिक केन्द्र दिल्ली र मुम्बईलाई जोड्छ । हाल आठ लेनको यो सडकलाई पछि १२ लेनसम्म विस्तार गर्न सकिने जनाइएको छ । सन् २०२४ सम्म यसको निर्माण पूरा गरिसक्ने लक्ष्य छ ।

 

 

यो सडक हरियाणामा १२९ किमी, राजस्थानमा ३७३, मध्य प्रदेशमा २४४, गुजरातमा ४२६ र महाराष्ट्रमा १७१ किमी पर्छ । यी राज्यमा एक्सप्रेस वे बनाउनका लागि १५ हजार हेक्टर जमिन अधिग्रहण गरिएको थियो । यो सडकलाई विभिन्न विमानस्थल र बन्दरगाहसँग पनि जोडिएको छ ।

ग्रामीण क्षेत्रको विकास

टाइम्स अफ इन्डियाका अनुसार यो एक्सप्रेस वे परियोजना हरियाणाको मेवात र गुजरातको दाहोद जस्ता दुई अति पिछडिएका जिल्लाहरू हुँदै निर्माण भइरहेको छ । जसका कारण यस सडकमा पर्ने पिछडिएका क्षेत्रहरुको विकास हुने अपेक्षा गरिएको छ ।

यस सडकमा सुरक्षालाई पनि उत्तिकै ध्यान दिइएको छ । हरेक ५ सय मिटरको दूरीमा सोलारबाट चल्ने सीसीटीभी क्यामेरा लगाइएको छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्स पनि लगाइएको छ, जसको लिंक स्याटेलाइटसँग गरिएको छ । यसले कुनै पनि परिस्थितिमा मेडिकल इमरर्जेन्सी, ट्राफिक जामको अवस्थामा काम लाग्नेछ ।

यस सडकमा १२० किमी प्रतिघन्टाका दरले सवारी चलाउन सकिन्छ भने दुई सवारीको बीचमा अढाई मिटरको दूरी हुनुपर्नेछ । यसलाई ग्रीन एक्सप्रेस वे बनाउन सडकको दुवैतर्फ वृक्षरोपण गरिएको छ । सडक किनारमा रहेका रेस्ट स्टेसनमा स्थानीय खानपानको व्यवस्था गरिएको छ ।

 

 

अर्थतन्त्रमा टेवा पुग्ने आशा

विभिन्न राज्य जोड्ने यो आयोजनाले लगानी वृद्धिबाट अर्थतन्त्रमा टेवा पुग्ने आशा भारतीय सरकारको छ । केही दशक अघिसम्म सडकको दुर्दशाका कारण भारतीय विकासमा अवरोध हुँदै आएको थियो । यो एक्सप्रेस वे जस्ता सडक आयोजनाबाट अब ती अवरोध हट्ने अपेक्षा गरिएको छ ।

विश्वको पाँचौं ठूलो अर्थतन्त्र र चाँडै नै सबैभन्दा धेरै जनसंख्या भएको देश भन्ने तरखरमा रहेको भारतको लागि यो आयोजना महत्वपूर्ण मानिएको छ । भारतीय प्रधानमन्त्री मोदी सरकारका लागि पनि यो आयोजना सफलताको रुपमा रहने भएको छ ।

आयोजनाको पहिलो खण्डको उद्घाटनको क्रममा मोदीले पनि भनेका छन्, ‘दिल्ली-मुम्बई एक्सप्रेस वे विश्वकै एउटा उन्नत एक्सप्रेस वे हो, जुन विकासशील भारतको एउटा भव्य तस्बिर प्रस्तुत गर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर