दलको हैसियत मापक बन्यो इलाम उपनिर्वाचन

इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना सकिएर विजेता घोषणा भइसकेको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अन्य उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका छन् । तर, यो उपनिर्वाचनले देश, राजनीति र दलका लागि ‘कठोर सन्देश’ दिएको छ । एउटा कोणबाट २०८४ को आमनिर्वाचनका लागि ‘प्रि–इलेक्सन पोल’ मानिएको यो उपनिर्वाचनले प्रमुख राजनीतिक दलसहित पहिचानवादीहरुको जनमत प्रष्टाएको छ ।

यो उपनिर्वाचनमा हरेक दल एक्ला एक्लैजसो चुनावी मैदानमा थिए । एमालेलाई माओवादीको समर्थन रहेको जनाइए पनि फिल्डमा भने त्यस्तो देखिएको थिएन । पुराना दल एमाले, माओवादीलाई पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको चुनौती थियो । तर, चुनावी परिणाममा भने त्यस्तो चुनौती देखिएन ।

पहिचानको राजनीति

कोशी प्रदेशको राजनीतिमा अहिले पहिचानको माग जबर्जस्त ढंगले उठेको छ । विशेषगरी प्रदेशको नामकरणको विषयमा पनि यहाँको जनसमुदाय असन्तुष्ट छ । त्यो असन्तुष्टिको झलक पहिचान पक्षधरको तर्फबाट स्वतन्त्र डकेन्द्र थेगिमलाई उठाएर देखाएको थियो । थेगिमको मुढा चिह्नलाई कतिपय वडाबाट एक पक्षीय रुपमा मत आएको थियो ।

त्यसैले आगामी दिन र चुनावमा कोशीमा पहिचानको मुद्दा जबर्जस्त ढंगले उठ्ने देखिएको छ । यस्तो हुनुको कारण हो, विगतमा दलहरुले पहिचानको मुद्दासहित जनतासँग गरेको वाचा पूरा नहुनु । प्रदेश स्थानीय जनताको भावनाअनुसार चल्न नसक्नुले पनि यो मुद्दा अब केन्द्रीय राजनीतिसम्म पुगेको छ ।

पुरानो दलमै भरोसा

इलाम–२ एमालेको गढको रुपमा परिचित छ । त्यो विरासत यसपटक पनि एमालेले कायम राखेको छ । यसअघि एमालेका सुवास नेम्वाङ यो क्षेत्रबाट लगातार सांसदको रुपमा चयन हुँदै आएका थिए । गत वर्ष उनको हृदयाघातबाट निधन भएपछि उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएका थिए, जसलाई इलाम–२ का जनताले अनुमोदन पनि गरेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैला चुनावले आफ्नो दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको देखाएको बताउँछन् । ‘अन्य राजनीतिक पार्टीमा सङ्गठित व्यक्तिले पनि ‘सूर्य’लाई मत हालेको देखिन्छ । विचारका हिसाबले आफ्ना दलको नेतालाई मान्ने तर मुलुक सञ्चालनको जिम्मेवारीमा एमाले खोज्ने प्रवृत्ति मतदातामा देखियो । यो एमालेका लागि नयाँ जिम्मेवारी पनि हो,’ उनले भने ।

पहिचानका नाममा अतिवादी प्रवृत्तिलाई समाप्त पारिएको जनाउँदै उनले जनताले युवालाई अनुमोदन गरेको स्पष्ट देखिएको दाबी गरे ।

कांग्रेसको कमजोरी

इलाम–२ मा एमालेको जित हुनुको अर्को कारण हो, कांग्रेसको कमजोरी र अन्तर्घात । एमालेले इलामका लागि सर्वसम्मत रुपमा सुहाङलाई धेरैअघि नै उम्मेदवार घोषणा गरेको थियो । सुहाङले घरदैलो कार्यक्रम थालिसक्दा कांग्रेस भने उम्मेदवार चयनको विवादमा रुमल्लिएको थियो ।

उम्मेदवारी दर्ताको अन्तिम समयसम्म पनि संस्थापन पक्षले डम्बर खड्का र इतर पक्षले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने लबिइङ गरेका थिए । अन्ततः कांग्रेस सभापति शेरबहादुर देउवाले खड्काको नाम नै अनुमोदन गरेका थिए ।

उम्मेदवार चयनको क्रममा नै दुई पक्ष देखिएको कांग्रेसमा चुनावको क्रममा पनि उस्तै अवस्था देखिएको छ । आफूभित्रको कलहले खड्काको पक्षमा जितका लागि पर्याप्त मत आउन सकेन मात्र होइन, उनले यसअघिको चुनावमा पाएको मत पनि जोगाउन सकेनन् । यसअघि २९ हजार ९०६ मत पाएका उनले यसपटक भने २१ सय ९४२ मत ल्याए ।

कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङ भने आफ्ना मतदाता यथावत् रहेको दाबी गर्छिन् । निर्वाचनको परिणामपछि अब पार्टी जनताको माझमा पुग्न र अलि बढी खट्नुपर्ने आवश्यकता महसुस भएको उनको भनाइ थियो ।

माओवादीको राजनीति धरापमा, रास्वपाको ‘क्रेज’ सकियो

एक्लै निर्वाचन लड्ने आँट गर्न नसक्दा र कतैबाट साथ नपाउँदा यसपटक माओवादीले उम्मेदवार उठाउनै सकेन । सत्तारुढ माओवादीको इलाम जिल्ला समितिले एकल रुपमा धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवारको सिफारिस गरेको थियो । तर, सम्भावित परिणाम आकलन गर्दै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई समर्थन गर्ने निर्णय लिए ।

अघिल्ला चुनावमा पनि कहिले एमाले त कहिले कांग्रेसलगायत दलसँग गठबन्धन गरेर चुनावमा भिडिरहेको माओवादी अब एक्लै चुनावी मैदानमा ओर्लन नसक्ने अवस्थामा पुगेको विश्लेषण गरिएको छ ।

नयाँ दल रास्वपाको भने पार्टी स्थापनाको डेढ वर्षमै क्रेज सकिएको छ । रास्वपाले इलाममा मिलन लिम्बूलाई उम्मेदवार उठाएको थियो । तर, सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि लिम्बूको जमानत जफत भएको छ । लिम्बूलाई भोट माग्न रास्वपा सभापति रवि लामिछानेलगायत नेता पटकपटक इलाम पुगेका थिए । तर, पछिल्लो समय आफैं विभिन्न प्रकरणमा मुछिएका लामिछाने नै विवादको घेरामा परेपछि उनले पनि मतदातालाई आकर्षण गर्न सकेनन् ।

लिम्बू स्वयं माओवादीका कार्यकर्ता हुन् । उनी रास्वपाको उम्मेदवार हुनुअघिसम्म माओवादीको प्रेस सेन्टरका सचिव थिए । बलियो उम्मेदवार नहुनु, कमजोर संगठन, रास्वपाका नेताहरु विभिन्न विवादमा पर्दै जानुजस्ता कारणले रास्वपा नराम्ररी पराजित भएको हो । यो निर्वाचन परिणामले मिसन ८४ को नारा लिएको रास्वपालाई नराम्ररी झड्का पनि लागेको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनले संगठन बिस्तार र पार्टी बनाउनका लागि जनतासँग लामो संवाद गर्न सन्देश दिएको बताए । ‘छिल्लो राजनीतिक परिवर्तनसँगै रास्वपाले जनसमर्थन पाउँछ भन्ने बुझाइ स्थापित गर्न अझ बढी काम गर्नुपर्ने देखियो । त्यो बाँकी काम यथाशीघ्र गरेर अघि बढ्न निर्वाचनबाट सन्देश मिलेको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *