बैंकहरूविरुद्ध उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघ सडकमा

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरूविरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् ।

यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य भएको र उद्योगी व्यवसायीहरूमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन्।

विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतंकलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताए। उनले देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायीहरू प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताए। उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदा समेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए।

उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको बताए। उनले सरकार यसरी मौन बस्न नहुने बताए। उनले सरकारले व्यापार उद्योगमैत्री नियम कानून ल्याउन आवश्यक रहेको बताए।

पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप उनीहरूको छ। उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँचसहितको बैंकहरूको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनीसमेत कार्यक्रममा दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर