सेनाले मनायो स्थापना दिवस (तस्बिरहरू)

नेपाली सेनाले शनिबार आफ्नो २६०औं स्थापना दिवस मनाएको छ।

२०४७ सालदेखि हरेक वर्ष महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सोहीअनुसार शनिबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी सेना दिवस मनाइएको हो।

यस्तै देशका विभिन्न स्थानहरूमा तैनाथ एवं विदेशस्थित नेपाली सेनाका सबै इकाइहरूले समेत विविध कार्यक्रम गरी दिवस मनाएका हुन्।

टुँडिखेल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन्। राष्ट्रपति भण्डारी नेपाली सेनाकी परमाधिपति हुन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरी शहीदहरूप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन्। उनले नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही–२०७९’ तथा ‘नेपाली सेनाको इतिहास वि.सं. १८७२–२००७’ नामक पुस्तकको विमोचन गर्नुका साथै फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने सेनानी जगनाथ दनै र सेनानी टेकबहादुर कार्कीलाई पुरस्कृत गरिन्। राष्ट्रपति भण्डारीले भारतीय सेना तथा बेलायती सेनाको ब्याण्डलाई उपहार पनि प्रदान गरिन्।

समारोहमा नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत विभिन्न ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो। त्यस्तै राइफल र तोपबाट बढाइँ गरिएको थियो। नेपाली सेनाका विभिन्न अंगहरू तथा गतिविधिहरूको प्रतिनिधित्व हुने झलकहरूका साथै सैनिक हतियार, उपकरण र विविध सैनिक कला प्रदर्शन, मार्चपाष्ट, फ्रि–फल जम्प लगायत विभिन्न संस्कृति झल्कने नाच एवं झाँकी प्रस्तुत गरिएको थियो। उक्त समारोहमा नेपाली सैनिक ब्याण्डका साथै भारतीय सेनाको एघारौं गोर्खा राइफल्स रेजिमेन्टल सेन्टर र बेलायती सेनाको ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाजद्वारा ब्याण्ड डिस्प्ले गरिएको थियो।

त्यस अवसरमा मौलिक वाद्यवादनका साधनहरूको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यअनुरूप ५५५ जना सकलदर्जाद्वारा मादलको ताल र लय प्रस्तुत गरिएको थियो। फागुन ४ गते प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा भएको मादलको सोही प्रस्तुति वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनद्वारा विश्व किर्तीमानका रूपमा प्रमाणित भइसकेको छ। आज सैनिक मञ्चमा आयोजित बेग्लै समारोहमा वर्ल्ड बुक अफ रेकर्ड्सका प्रतिनिधि सागर कटवालले प्रधानसेनापति शर्मालाई सो कीर्तिमानको अस्थायी प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीह, महामहिम राजदुतहरुरू, पूर्वप्रधानसेनापतिहरू, भारतीय सेनाका पूर्वसेनाध्यक्षहरू, बहालवाला तथा अवकाशप्राप्त रथी तथा अधिकृतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरू लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

समारोहको दोस्रो चरणमा प्रधानसेनापतिले नेपाली सेनालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने एवं आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान गर्नेस्वदेशी तथा विदेशी महानुभावहरू र संघसंस्थालाई ‘प्रधानसेनापति प्रशंसा निशान’ तथा ‘प्रधानसेनापति प्रशंसापत्र’ प्रदान गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर