पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित माधव नेपालको टिप्पणी- मुलुकमा फेरि मण्डलेहरू जाग्न थाले

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिने टुंगो लाग्नेसमेत बताए।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियु स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए। त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ छ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि बताए।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरे। केके न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्तिबाहेक अरू केही पनि नदेखिएको उनले आरोप लगाए।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरू जाग्न लागेको बताए। उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको बताए।

अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रूपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियुका नेता कार्यकर्तालाई निर्देशन दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर