विदेशको कमाइले स्वदेशमा उद्यम

मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त हुन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका छन्।

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताए।

तीन वर्ष मलेसिया बस्दा कमाएको १ लाख ५० हजार रुपैयाँ लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका थिए। हाल कम्पनीमा एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको उनको भनाइ छ। तीन कट्ठामा तीन वटा प्लाष्टिकका टनेलमार्फत् सुरु गरिएको च्याउखेती हाल विस्तार गरेर चार वटा पक्कि घरमा सारेका छन्। थप तीनवटा पक्की घर च्याउखेतीकै लागि बनाइरहेको उनले बताए। च्याउ उत्पादन हुने पक्कि घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन्। एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोका राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको अनुमान छ। गर्मीभन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म च्याउ उत्पादन भइरहेको बताए।
उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ। एनका अनुसार हाल थोकमा एक सय ५० रुपैयाँका दरले च्याउ बिक्री भइरहेको छ। उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पुर्याउनुपर्ने र बिहान ७ बजेसम्ममा विराटनगर र धरानसम्म पुर्याइसक्नुपर्ने उनले बताए।

दैनिक अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना उनले बनाएका छन्। उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारिमा रोजगारी दिइरहेका छन्। आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना उनको छ।

सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाँइ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर च्याउ खेतीमा लागेका बोगटीको भनाइ छ। सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेका थिए। दुई वर्ष अघि आगलागीमा परी उनको फर्म जलेपछि यहाँको फर्म बन्द छ । पछिल्लो समय उनले काठमाडौँमा च्याउको बीउ उत्पादन गर्ने ल्याब सञ्चालन गरिरहेका छन्।

विवेक बोगटीले पनि सोही ल्याबबाट कन्ये जातको च्याउको बीउ लिइरहेका बताए। दुई वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले सुनाए। डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छाडेको उनी बताउँछन्।
‘वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरूले सरल कर्जा दिन्छ भन्ने सुनेर विराटचोकस्थित कृषि विकास वैंकमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन’ उनले भने, ‘त्यसपछि जानै छाडे ।’ -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *