नेपाल र भारतका पूर्व सेना प्रमुखहरूबीच जंगी अड्डामा ‘चिफ कन्क्लेभ’

नेपाल र भारतका पूर्व सेना प्रमुखहरूबीच नेपाली सेनाको मुख्यालय जंगी अड्डामा चिफ कन्क्लेभ-२०७९ आयोजना भएको छ।

नेपाली सेना स्थापनाको २६०औं वर्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस-२०७९ मा सहभागी हुन आएका भारतीय सेनाका पूर्वसेनाध्यक्षहरू र उनीहरूका समकक्षी नेपालका पूर्वप्रधानसेनापतिहरूको सहभागितामा कन्क्लेभ आयोजना भएको हो।

कन्क्लेभमा बहालवाला प्रधानसेनापति प्रभुराम शर्मा पनि उपस्थित थिए। कन्क्लेभमा सहभागीहरूबीच आपसी हितका विविध विषयहरूमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कन्क्लेभअघि आजै भारतका पूर्वसेनाध्यक्षहरूले जोमसोमस्थित मुक्तिनाथ मन्दिरको दर्शन तथा पूजापाठ गरेका थिए।

नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी हुन्छन्। सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ।

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाशप्राप्त प्रधानसेनापतिलाई बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ। नेपालले भने चिफ कन्क्लेभ पहिलो पटक गर्न गरेको हो। यद्यपि,सेना दिवसमा तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाको कार्यकालमा यसरी नै मानार्थ महारथीहरूलाई निम्ताइएको थियो।

सेना दिवसमा सहभागी हुन भारतका पूर्वसेनाध्यक्षहरू मनोजमुकुन्द नरवणे, दलवीरसिंह सुहाग, दीपक कपूर, जोगिन्दर जसवन्त सिंह (जेएस) र विश्वनाथ शर्मा नेपाल आएका थिए। उनीहरू सोमबार स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर