राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सघाउन प्रचण्ड सकारात्मक, पार्टीभित्र छलफल गर्दै

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन्। यही दौडमा नेपाली कांग्रेसले आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन अन्य दलहरूको समर्थन खोजिरहेको छ। हालसम्म उम्मेदवारको टुंगो नलागे पनि कांग्रेसले आफ्नो उम्मेदवारको पक्षमा अन्य दलको समर्थन खोजिरहेको हो।

यसैबीच सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कांग्रेस शीर्ष नेताहरूले भेटघाट बढाएका छन्। आइतबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन्।

स्रोतका अनुसार कांग्रेसको यो प्रस्तावमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन्। उनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउन आफू सकारात्मक रहेको र यसबारे पार्टीमा छलफल गर्ने बताएको भेटमा सहभागी एक कांग्रेस नेताले बताए। यसै प्रयोजनका लागि सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठकसमेत बोलाइएको छ।

प्रधानमन्त्री प्रचण्ड सत्ता सहयात्री नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीभन्दा कांग्रेस नेताहरूसँग बढी खुल्ने गरेका छन्। प्रचण्डको एमाले अध्यक्ष ओलीसँग भेट निरन्तर भइरहे पनि राष्ट्रपतिबारे कुनै सहमति हुन सकेको छैन। ओलीले १० पुसको सहमतिअनुसार राष्ट्रपति एमालेको हुनुपर्ने बताउँदै आएका छन् भने प्रचण्डले आफूलाई विश्वासको मत दिएपछि परिस्थिति फेरिएको तर्क गर्ने गरेका छन्।

प्रचण्ड राष्ट्रपति एमालेलाई दिने पूर्वसहमतिबाट पछि हट्न खोजिरहँदा वर्तमान सत्ता गठबन्धन टुट्नेसम्मका आशंकाहरू व्यक्त भइरहेका छन्। कांग्रेस नेताहरूले पनि वर्तमान गठबन्धन चाँडै टुटेर पुरानै गठबन्धन ब्युँतिने दाबी गरिरहेका छन्। कांग्रेससँग देखिएकाे प्रचण्डको सामीप्यता र लचकता तथा कांग्रेस नेताहरूकाे उनीसँगकाे बाक्लाे भेटघाटले यो आशंकालाई थप बल पुर्‍याएको छ।

आइतबारको भेटमा समेत कांग्रेस सभापति देउवाले प्रचण्डलाई पुराना कुरा बिर्सिएर नयाँ शिराबाट सहकार्यका लागि प्रस्ताव गरेको स्रोतको दाबी छ।

चुनावपछि पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री छाड्न कांग्रेसले अस्वीकार गर्दा तत्कालीन गठबन्धन टुटेको थियो। यो कुरा भुलेर देउवाले आग्रह गर्दै नयाँ शिराबाट अघि बढ्नका लागि प्रधानमन्त्रीसँग प्रस्ताव गरेका हुन्।

गत पुस १० मा एमालेलगायत ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए। प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस सभापति देउवाले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिएनन्, बरु बधाई दिएका थिए। गत पुस २६ मा प्रधानमन्त्रीले संसद्मा विश्वासको मत माग्दा कांग्रेसले पक्षमा मत दिएको थियो।

प्रतिपक्षमै बस्ने तर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय थियो। त्यसयता दिनहुँजसो कांग्रेसका नेताहरू प्रधानमन्त्री प्रचण्डसँग संवादमै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *