नेपालले ३६ लाख बराबरको खानेपानी बेच्दा १५ करोडको किन्यो

मुलुकमा उत्पादन भएको प्रशोधित पानी जापान, भारतलगायतका देशमा जाने गरेको छ ।

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३६ लाख ११ हजार रुपियाँ बराबरको ३१ हजार ५५४ लिटर पानी निर्यात भएको हो । गत वर्ष सो अवधिमा २३ लाख आठ हजार रुपियाँ बराबरको एक हजार ३९६ लिटर निर्यात भएको थियो ।

चालु आवको नौ महिनामा मुलुकमा उत्पादन भएको १५ लाख २१ हजार रुपियाँको १२ हजार ९६६ लिटर पानी भारत निर्यात भएको छ । यस्तै २० लाख ९० हजार रुपियाँ बराबरको १८ लाख ५८८ लिटर पानी जापान निर्यात भएको केन्द्रको तथ्याङ्क छ ।

भन्सार विभागका अनुसार आव २०७८र७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी निर्यात गरेको थियो । जसबाट नेपालले २५ लाख ४४ हजार आम्दानी गरेको थियो । स्वदेशी पानी निर्यात बढाएर विदेशी मुद्रा भित्र्याउने प्रशस्त सम्भावना भए पनि ठुलो परिमाणमा निर्यात हुन सकेको छैन । मुलुकमा उत्पादन भएको पानी अन्य देशमा निर्यात गर्न सकिने भए पनि निर्यात भने न्यून परिमाणमा जाने गरेको छ ।

नेपालबाट तीन प्रकृतिका खानेपानी विदेश निर्यात हुने गरेको छ । मिनरल वाटर, हिउँ पग्लिएको पानी र सुगर एडेड वाटर गरी तीन प्रकारका पानी विदेश निर्यात हुने गरेको हो । हाल नेपालबाट सबैभन्दा धेरै रसुवा र नेपाल स्प्रिङ ब्रान्डको पानी निर्यात हुँदै आइरहेको छ ।

हाल रसुवा जिल्लाको धुन्चेमा कारखाना खोलेर रसुवा ब्रान्डको पानी विदेश निर्यात भइरहेको छ । नेपाल सरकारले पानी उत्पादन सम्बन्धित कानुन नबनाउँदा निर्यातमा समस्या उत्पन्न भइरहेको छ । सरकारले पानी उत्पादनको मापदण्ड नबनाउँदा विदेशी आयातकर्ताले मागेको गुणस्तरको प्रमाणपत्र देखाउन मुस्किल भइरहेको उत्पादकको भनाइ छ । मुलुकबाट न्यून परिमाणमा पानी निर्यात भए पनि बाहिरी मुलुकबाट भने ठुलो परिमाणमा पानी आयात हुने गरेको छ । विशेष गरी पाँचतारे होटलसँगै अस्तपालमा प्रयोग गर्न उच्च गुणस्तरको आयात गरिएको पानी प्रयोग गर्ने गरिएको छ ।

विभागको तथ्याङ्क अनुसार चालु आवको नौ महिनामा १५ करोड ४८ लाख ४० हजार रुपियाँ बराबरको मिनरल वाटर आयात भएको छ । चीन, मलेसिया, फिलिपिन्स, युएई, भारत, फ्रान्स, बेलायत, थाइल्यान्ड र अमेरिकाबाट पानी आयात हुने गरेको छ । नेपालमा निर्यात कम भए पनि प्रत्येक वर्ष बाहिरी मुलुकबाट पानीको आयात भने धेरै हुने गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर