सशस्त्र प्रहरीमा बढुवा भएका ४ मध्ये ३ डीआईजीले लगाए दर्ज्यानी चिह्न

सशस्त्र प्रहरी बल, नेपालमा वरिष्ठ उपरीक्षक (एसएसपी)बाट नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका ४ जनामध्ये ३ जनाले दर्ज्यानी चिह्न लगाएका छन्।

नेपाल सरकार प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको फागुन ४ गतेको निर्णयले बढुवा भएका ४ मध्ये ३ डीआईजीले सोमबार दर्ज्यानी चिह्न लगाएका हुन्।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

दर्ज्यानी चिह्न प्राप्त गर्ने डीआईजीहरूमा अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन्।

बढुवा भएका अर्का डीआईजी सुरेशकुमार श्रेष्ठले भने देशबाहिर रहेकाले दर्ज्यानी चिह्न लगाउन पाएनन्। उनी संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रूपमा दक्षिण सुडानमा छन्। उनले बिदामा आएर दर्ज्यानी चिह्न लगाउन सक्नेछन्।

सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो। मन्त्रालयले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूको बढुवा गरेको हो। मन्त्रालयले उनीहरूलाई २५ माघमा बढुवा गर्न सिफारिस गरेको थियो। उजुरी नपरेपछि उनीहरूको आइतबार बढुवा भएको थियो।

दर्ज्यानी चिह्न प्रदान समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आबद्ध भएपछि पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए।

महानिरीक्षक अर्यालले आर्थिक अनियमिततालगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सबै तहले कामको मूल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिए।

उनले बढुवा भएका अधिकृतहरूलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिइएको बताउँदै सशस्त्र प्रहरी बलमा पहिलो ब्याचको रूपमा नयाँ भर्ना भएका अधिकृतहरू पदोन्नति भएकाले यो एउटा ऐतिहासिक पदोन्नति भएको उल्लेख गरे।

महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहे पनि त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरूमा पथप्रदर्शक र रोलमोडल बन्नुपर्ने उल्लेख गर्दै संगठनले विभिन्न पक्षहरूमा सुधारका योजनाहरू अघि सारेको र यस्ता योजनाहरू प्रभावकारी रूपमा गराउन सकलदर्जाका राष्ट्रसेवकहरूलाई निर्देशन दिए।

उनले संगठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धारजस्ता कार्यहरूको माध्यमबाट सशक्त सुरक्षा संगठनको रूपमा उभ्याउन सबैले आ–आफ्नो तह र तप्काबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै आफ्नो पेशागत जिम्मेवारी र संगठनप्रति पूर्ण निष्ठावान भई अनुशासित र इमान्दारितापूर्वक कार्यक्षेत्रमा अब्बल रूपमा प्रस्तुत हुनुपर्ने बताए।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकश गौतम र वंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरूलगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर