एक वर्षमा १९० चिनियाँ नेपालबाट निष्कासित

गैरकानुनी रुपमा नेपालमा बसिरहेका १९० चिनियाँहरुलाई निष्कासन गरिएको छ । तोकिएको अवधिसम्म नेपाल फर्कन नपाउने गरी उनीहरुलाई गत वर्ष (सन् २०२२) मा निष्कासन गरिएको हो ।

अध्यागमन विभागका अनुसार गत एक वर्षमा ५६४ जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । भिसा नलिइकन वा भिसा सकिएपछि पनि नवीकरण नगरीकन नेपालमा बसिरहेका उनीहरुलाई फिर्ता पठाइएको हो ।

यस्तै विभिन्न कसुरमा सजाय पाएका विदेशीलाई पनि निष्कासन गरिएको छ । त्यस्ता कसुरमा हत्या, बलात्कारजस्ता जघन्य अपराधदेखि ठगी तथा बैंकिङ कसुरसम्म छन् । ५०४ जना भिसा अवधि सकिएका र विभिन्न कसुरमा सजाय पाएका व्यक्ति थिए ।

सबैभन्दा धेरै चिनियाँ नागरिक नेपालमा अवैध रुपमा बस्दै आएको पाइएको विभागले जनाएको छ । भिसा अवधि सकिए पनि नवीकरण नगरी उनीहरु बस्दै आएका हुन् । वर्षेनि नेपालबाट निष्कासित हुने चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै छ ।

उनीहरु विभिन्न कसुरमा पनि संलग्न रहेको भेटिएको विभागले जनाएको छ । हालैका वर्षमा नेपालमा रहेका कतिपय चिनियाँ नागरिकहरू साइबर अपराध, अवैध हुन्डी, सम्पत्ति शुद्धीकरण, सट्टेबाजीलगायत कार्यमा संलग्न भएको भन्दै पक्राउ परेको प्रहरीको तथ्यांक छ ।

विगतमा पनि लोपोन्मुख जनावरको अंग, लागूऔषध, डलर कारोबार र सुन तस्करकिा घटनामा चिनियाँ नागरिकहरु जोडिएका थिए । १२ मंसिर ०७६ मा ८ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका थिए । हङकङ हुँदै उनीहरूले नेपालमा सुन तस्करीको प्रयास गरेका थिए । यस्तै, २० साउन ०७६ मा चिनियाँ नागरिक ली निङ्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ परेका थिए । हङकङबाट कपडाको बेल्टमा लुकाएर उनले नेपालमा सुन भित्र्याउने प्रयास गरेका थिए ।

१२ कात्तिक ०७५ मा अवैध रूपमा साटेर डलर लैजाने क्रममा एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो । नेपालबाट चीनमा डलर तस्करी गर्न खोज्ने क्रममा इरेसा नामक चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।

४ भदौ ०७५ मा समुद्री घोडा तथा बाघको छालासहित तीन चिनियाँ नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं वान होटेलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ ठमेलस्थित उनकै होटेलबाट पक्राउ परेका थिए । उनको साथबाट समुद्री घोडा ३०० ग्राम, यार्सागुम्बा ९० ग्राम, सुनाखरी ३३० ग्राम तथा विभिन्न जडीबुटी साढे ६ किलो बरामद भएको थियो । यस्ता थुप्रै घटनामा चिनियाँ नागरिक संलग्न भएको पाइएको छ ।

यस्तै, गत वर्ष ४४ जना अमेरिकी, यूकेका ३०, फ्रान्सका १९ र क्यानडा १७ जना निष्कासनमा परेका छन् । १० जना वा त्यसभन्दा बढी नागरिक निष्कासनमा परेका अन्य देशहरूमा उज्वेकिस्तान, जर्मनी, दक्षिण कोरिया, रुस र अस्ट्रेलिया छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *