संसद् बैठकमा पुगेन गणपूरक संख्या

प्रतिनिधि सभाको आजको बैठक गणपूरक संख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधि सभालाई प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति जनाएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नका प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले जवाफ दिएकी थिइन् ।

उक्त नियमापत्तिपछि सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई सचिवालयका कर्मचारीलाई सांसदको संख्या यकिन गर्न निर्देशन दिएका थिए । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्तावलाई संसद्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा तत्काल कायम रहेको सांसदको संख्या एक चौथाइ उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । जसअनुसार कम्तीमा पनि ६९ जना सांसदको उपस्थिति हुनुपर्नेमा तीन मिनेट जनाउ घण्टी बजाएपछि पनि जम्मा ५० सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो । प्रतिनिधि सभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर