एमालेले सुवास नेम्वाङलाई बनायो राष्ट्रपतिको उम्मेदवार

नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।

पुस १० गते सत्तारूढ दलहरूबीच भएको सहमतिअनुसार एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले आफ्नो उम्मेदवारलाई सहयोग र समर्थन गर्नका लागि कांग्रेसबाहेक सबै राजनीतिक पार्टीहरूलाई पनि आजै पत्राचार गर्ने निर्णय गरेको छ। कांग्रेसको आफ्नै उम्मेदवार भएकाले सहयोगका लागि पत्राचार नगर्ने एमालेको निर्णयमा उल्लेख गरिएको छ।

सत्तारूढ दलहरूबीच गत पुस १० गते एमालेको तर्फबाट राष्ट्रपति बनाउने सहमति भएको थियो। सोही सहमतिको जगमा आफूहरूले राष्ट्रपतिको उम्मेदवार तय गरेको प्रचार विभाग प्रमुख गुरुङले स्पष्ट पारे।

यता सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)को समेत सहमतिमा नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। राष्ट्रपति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ र यही फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर