एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता

नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका थिए।

उनको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन्। यसैगरी उहाँको समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।

इलाम नगरपालिका–७ सुन्तलाबारीमा वि.सं. २००९ फागुन २८ गते जन्मेका नेम्वाङ अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए। वि.सं. २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष छन्। वि.सं. २०४८ देखि २०५२ सम्म राष्ट्रिय सभा सदस्य बनेका उनी त्यसलगत्तै पुनः राष्ट्रिय सभा सदस्य भएका थिए। प्रतिनिधि सभा निर्वाचन २०५६ मा इलाम-२ बाट निर्वाचित उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम-२ बाट निर्वाचित भएका थिए।

प्रतिनिधि सभा निर्वाचन २०७४ र २०७९ मा इलाम-२ बाट लगातार निर्वाचित भएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए।

उनी वि.सं. २०६३ मा पुनःस्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधान सभा अध्यक्ष/सभामुख र २०७२ सालमा रूपान्तरित व्यवस्थापिकाको सभामुख भएका थिए। वि.सं. २०५१ मा न्याय, कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए।

राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उनी पञ्चायती निरंकुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटकपटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर