प्रकाश ज्वाला भन्छन्- राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चित

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दाबी गरेका छन्।

प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरूको साझा उम्मेदवारको रूपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित भइसकेको बताएका हुन्।

शनिबार अपराह्न राष्ट्रपतिमा पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकताबद्ध भएको उल्लेख गर्दै नेकपा एमाले भने एक्लिएको बताए। उनले आठ दलहरूबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने बताए।

प्रमुख सचेतक ज्वालाले ८ राजनीतिक दलहरूबीचको एकता र संकल्पले मुलुकको राजनीतिमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिने बताए। प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरू जति धेरै एकताबद्ध भयो, उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरू नयाँ शिराबाट अघि बढ्न थालेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *