जनयुद्धसहित सबै आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तर्क्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरेका हुन्।

प्रधानमन्त्री दाहालले भने, ‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। वि.सं. २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारीमा छ।’

सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए। उनले भने, ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ। यो छिट्टै टुंगोमा पुग्छ। जनयुद्धका शहीदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानून बनाएर नै गरिन्छ। त्यसका लागि विधेयक महत्त्वपूर्ण छ।’

अन्तर्क्रियामा शहीद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुशी व्यक्त गरे। सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो। नेकपा (माओवादी केन्द्र)ले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी शहीद सप्ताह मनाउने तयारी गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री दाहालका प्रमुख सल्लाहकार हरिबोल गजुरेल, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, नेता हितराज पाण्डेलगायतको सहभागिता थिया। जनयुद्धका शहीद परिवारले राज्यकोतर्फबाट आफूहरूलाई उचित सम्मान दिनु जरुरी रहेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर