डीआईजी श्यामलाल ज्ञवालीको उमेर विवाद, यस्तो छ सत्यता

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियामै त्रुटि रहेका कारण रद्दको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा भर्ना मितिमा २५ वर्ष ननाघेको हुनुपर्नेमा उनले उमेर ढाँटेर भर्ना भएको उल्लेख छ ।

पर्दाफासलाई विश्वसनीय स्रोतबाट प्राप्त उनका कागजपत्रहरुले केही कैफियत भएको देखाउँछ । जसअनुसार ज्ञवालीको नागरिकतामा उल्लेखित जन्ममिति र उनका अन्य शैक्षिक प्रमाणपत्र र प्रहरी रेकर्डमा जनाइएको जन्ममिति फरक फरक पाइएको छ । जसले उनी प्रहरी सेवामा प्रवेश गर्न उमेर नाघिसकेकोे संकेत गर्छ ।

धनगढी घर भई हाल ललितपुरको जावलाखेल बस्ने शेरबहादुर चन्दले अख्तियारमा उजुरी दायर गरेका हुन् । उजुरीमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ज्ञवालीले आफ्नो नागरिकतामा उल्लेखित वास्तविक उमेरभन्दा कम देखाएर राज्यलाई ढाँटी प्रहरी सेवा प्रवेश गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान र कारबाहीको माग गरिएको छ ।

डीआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्र

जिल्ला प्रशासन कार्यालय प्यूठानले २ चैत २०४१ मा जारी गरेको नागरिकता प्रमाणपत्रमा उनी त्यतिबेला १७ वर्ष भएको उल्लेख छ (हेर्नुहोस् ज्ञवालीको नागरिकताको प्रमाणपत्र) । तत्कालीन प्रजिअ शम्भुप्रसाद खनालले जारी गरेको नागरिकता अनुसार उनको जन्ममिति २०२४ साल हुन आउँछ । नागरितामा जन्म महिना र गते खुलाइएको छैन । प्रहरीका अनुसार नागरिकताकै विवरण मानिने भएकाले उनको जन्ममिति २ चैत २०२४ हुन्छ ।

तर, ज्ञवालीले आफ्नो शैक्षिक प्रमाणपत्र र सिटरोलमा भने जन्ममिति २६ भदौ २०२५ उल्लेख गरेका छन् । नागरिकतामा उल्लेखित जन्ममितिभन्दा यो ५ महिना २४ दिनको फरक पर्छ ।

ज्ञवाली प्रहरीले जारी गरेको ९ मंसिर २०५० को सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका हुन् । इन्स्पेक्टरमा भर्नाका लागि उक्त सूचना जारी भएको मितिमा भर्ना वर्षको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ (हेरौं सूचना) । तर, नागरिकताको जन्ममिति अनुसार उनी त्यतिबेला २५ वर्ष नाघिसकेको देखिन्छन् ।

२०५० सालमा प्रहरीले जारी गरेको सूचना

नियमावलीमा ‘नोकरीमा प्रवेश गरेको बेलामा निजले पेस गरेको शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्ममिति वा वर्षबाट हुने आउने उमेर र त्यस्तो अभिलेख नभएमा निजले नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखिएको जन्ममिति वा वर्षबाट हुन आउने उमेर,’ भर्नाका लागि मानिने उल्लेख छ ।

उक्त पदका लागि दरखास्त बुझाउने अन्तिम मिति भने ९ पुस २०५० थियो । हाल संशोधनपछि प्रहरी नियमावलीमा दरखास्तको अन्तिम दिनसम्म इन्स्पेक्टरका लागि २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

अख्तियारमा परेको उजुरीमा ज्ञवालीले प्रहरी सेवामा प्रवेश गरी कृषि विकास बैंक केन्द्रीय कार्यालय काठमाडौंमा २०४७ सालदेखि २०५१ सालसम्म जागिर खाएको उल्लेख छ । उनले १९ वैशाख २०४९ मा ९८ टोलीसँगै इन्स्पेक्टरका लागि दरखास्त पेस गरे पनि लिखित परीक्षामा अनुत्तीण भएको उजुरीमा जनाइएको छ ।

प्रहरी नियमावली २०४९

‘निजले सुरुमा जिल्ला प्रशासन कार्यालय प्यूठानबाट नागरिकता लिएको र हाल जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिएको बुझिएको छ । … बढुवा समितिले प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा गर्नुअगाडि नै निजको सम्पूर्ण सत्यतथ्य अनुसन्धान गरिपाऊँ,’ उजुरीमा उल्लेख छ ।

उजुरीमा ज्ञवालीले काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता र प्रहरीको कर्मचारी प्रशासन शाखामा उनको अभिलेख हेरफेर नभएकोबारेमा अनुसन्धान गर्न र दोषी देखी कारबाही गर्न पनि माग गरिएको छ ।

डीआईजी ज्ञवालीले बढुवाको समयमा अनावश्यक विवादमा ल्याउन उजुरी हालिएको पर्दाफासलाई बताए । ‘कसैले उजुरी दिँदैमा कारबाही हुन्छ नै भन्ने हुँदैन, मेरो नागरिकता र शैक्षिक प्रमाणपत्र त्यहीँ छ । जिल्ला स्तरीय परीक्षमा नै जन्ममिति उल्लेख हुन्छ । त्यहीअनुसार एसएलसी रजिस्ट्रेसनमा पनि जन्ममिति उल्लेख भएको थियो । त्यसैअनुसार अन्य प्रमाणपत्र बनेका छन् । नागरिकतामा मैले कुनै फेरबदल गरेको भए पो म दोषी हुँला ?’ उनले भने । उनले नागरिकताको जन्ममिति र अन्य प्रमाणपत्रमा उल्लेखित जन्ममिति कुनै फरक नरहेको दाबी गरे ।

प्रहरी कर्मचारीको नियमावलीमा ‘प्रहरी सेवामा रहेका कुनै पनि अधिकारीको ‘प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा’ हुने उल्लेख छ ।

‘तर, यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) जन्ममिति कायम गरिनेछ,’ नियमावलीमा भनिएको छ ।

यसअघि उमेर विवादकै कारण प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका थिए । उनीविरुद्ध पनि अख्तियारमा उजुरी परेको छ । उनले उमेर ढाँटेर सेवा प्रवेश गरेको र एसएसपीमै अवकाश पाउनुपर्ने उल्लेख उजुरीमा गरिएको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर