जनमत पार्टी सरकारबाट बाहिरिँदैन : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफुहरू सरकारबाट नबाहिरिने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन्। अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए।

‘सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको। अरू पार्टीहरू त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो,’ उनले भने, ‘जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन। त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ।’

उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने बताए ।सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ।

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै सोही बमोजिमको पात्रको रूपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए। जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले बताए।

राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिन सक्ने उनको तर्क छ। आगामी राष्ट्रपतिले संसद्बाट पारित भएका विधेयकहरूलाई उदारतापूर्वक प्रमाणीकरण गर्नुपर्ने उनले बताए।

उनले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने बताए। यद्यपि यी मागहरू पूरा गर्नका लागि सरकारलाई समय भने दिइने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर