क्यानडाका सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध, अमेरिकाले पनि छानबिन गर्दै

क्यानडाले मंगलबारदेखि सरकारी डिभाइसहरुमा टिकटक एपमाथि प्रतिबन्ध लगाएको छ । क्यानडाको प्रमुख सूचना अधिकृतको टोलीको छानबिनपछि एपमाथि प्रतिबन्ध लगाइएको त्यहाँको सरकारका प्रवक्ताले जनाएका छन् ।

क्यानडाले गोपनीयता र सुरक्षाको दृष्टिले टिकटक जोखिमपूर्ण भएको जनाउँदै प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । टिकटकका प्रवक्ताले क्यानडा सरकारको उक्त निर्णयप्रति कम्पनी निराश रहेको प्रतिक्रिया दिएका छन् । युरोपेली आयोगले टिकटकमाथि लगाएको यस्तै प्रकारको प्रतिबन्धको केही दिनपछि क्यानडा सरकारले पनि उक्त निर्णय गरेको हो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले टिकटप एपमा सुरक्षाको विषयमा ध्यानाकर्षण भएको बताए । ‘यो पहिलो कदम हो, टिकटकमाथि हामीले लिनुपर्ने कदम यो एउटा मात्र हुनसक्छ,’ उनले भने ।

व्यक्तिगत सूचना र चिनियाँ सरकारसँगको सहकार्यका कारण टिकटकलाई आलोचना गरिन्छ । छोटो भिडियो अपलोड गरिने यो एप चिनियाँ बाइटडान्स लिमिटेड कम्पनीको हो । अमेरिकाको संघीय कर्मचारीलाई पनि गत वर्ष टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको थियो ।

सोमबार अमेरिकाको ह्वाइट हाउस प्रशासनले सरकारी निकायलाई टिकटकको सिस्टमबारे छानबिन गर्न ३० दिनको समय दिएको छ । धेरै अमेरिकी विश्वविश्द्यालयले पनि आफ्नो नेटवर्कमा टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । भारत र केही एसियाली देशले पनि टिकटकमाथि कडा प्रतिबन्ध लगाएका छन् ।

कम्पनीले टिकटकको डेटामा चिनियाँ सरकारी अधिकारीको पहुँच नहुने दाबी गर्दै आएको छ । साथै, चिनियाँ संस्करण बाँकी अन्य देशको संस्करणभन्दा फरक हुने पनि कम्पनीको भनाइ छ । तर, गत वर्ष कम्पनीले चीनमा रहेका कर्मचारीले युरोपेली आयोगको डेटामा ‘छेडखानी’ गर्न सक्ने स्वीकार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर