राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोज्नुभयो : राष्ट्रिय सभा उपाध्यक्ष अर्याल

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्। बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन्।

उनले नेकपा एमालेले जुनसुकै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गतिविधिहरूका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताइन्। उनले नागरिकता विधेयक राष्ट्रपतिले संसद्बाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गरिन्। दुई पटक लैजाँदा समेत विधेयक पास नगर्नु पीडादायी रहेको उनले बताइन्।

उपाध्यक्ष अर्यालले राष्ट्रपतिले राष्ट्रपतिजस्तो पदमा बसेर अरूको इशारामा नागकिरता विधेयक रोकेको दाबी गरिन्। उनले राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसाबले हेर्नुपर्ने बताइन्। उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले अघि बढेको आरोप लगाइन्।

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको बताइन्। उनले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा रोखर काम गर्नुपर्ने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर