सुवास नेम्वाङले भेटे राजेन्द्र लिङ्देन, मागे राष्ट्रपतिमा भोट

नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीवार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन् ।

नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुवीर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित त्यहाँ पुगेका थिए । भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङदेनसहित नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतको उपस्थिति थियो ।

भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए ।

भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरे । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

राप्रपा नेताहरुले उम्मेदवार स्वयं आफूहरुको कार्यालयसम्म आएर मत मागेको प्रति खुशी व्यक्त गरेका सांसद भट्टराईले उल्लेख गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर