आन्दोलनमा पूर्वराजा शाह नआएपछि नाराबाजीकै बीच दुर्गा प्रसाईंले भने- राजतन्त्र-जिन्दावाद नभन्नू

व्यवसायी दुर्गा प्रसाईंले ‘राजतन्त्र-जिन्दावाद’ नभन्न आग्रह गरेका छन् । राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र-जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् ।

यसअघि उनका समर्थकहरूले राजा आऊ, देश बचाऊलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका थिए । तर, प्रसाईंले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र-जिन्दावादको नारा नलगाउन आग्रह गरे । उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राखे ।

प्रसाईंले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि बताए ।‘म तपाईंहरूलाई राजतन्त्र–जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनुपर्‍याे नि ! हामीसँगै आउनुपर्‍याे, भिडनुपर्‍याे; हामीलाई साथ दिनुपर्‍याे। राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईं । म राजा देखाएर सांसद बनेर जान्नँ ।’

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईंले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गरेका हुन् । आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सिर्जना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनुपरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर