आठ गजलकारको शेरमा गीति गजल ‘तिमीलाई हेर्दाहेर्दै’

आठ जना गजलकारको शेरमा सांगीतिक गजल ‘तिमीलाई हेर्दाहेर्दै’ सार्वजनिक भएको छ। नेपाली गजल क्षेत्रमा नौलो साथै सम्भवतः यो पहिलो प्रयोग पनि हो। अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजल यात्रा’को अगुवाइमा सो गीति गजल तयार भएको हो।

एउटै गजलमा ८ फरक गजलकारहरूको १/१ शेर समावेश गरेर तयार गरिएको सांगीतिक गजल ‘तिमीलाई हेर्दाहेर्दै‘ शुक्रबार ‘गजल यात्रा’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त संयुक्त गजलमा संगीत र गायन भने गायक तथा संगीतकार केशव पौडेलको र एरेन्ज जुगल डंगोलको छ। सार्वजनिक भएको लिरिकल भिडियो ‘एक शेर एक गायन’ अभियानका संयोजकसमेत रहेका गजलकार पवन लामिछानेले तयार गरेका हुन्।

गजलकार आनन्द श्रेष्ठको मतला रहेको सो गजलमा गजलकारहरू पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पूजा, डिल्लु चम्लागाईं, बासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका शेर समावेश छन्।

‘हामी सधैं नयाँ केही गरौं भनेर लागिरहेका हुन्छौं, त्यही क्रममा यो काम गरिएको हो।कोरोनाको त्रासदीपूर्ण समयमा हामी नजिकका साथीहरू एउटा शेर लेख्दै बाँकी शेर थपेर गजल पूरा गर भनेर फेसबुक समूहमा पालैपालो राख्थ्यौं र एउटा गजल पूरा गर्थ्यौं। त्यही बीचमा १/१ शेर गजल वाचन गरिएको भिडियोहरू बनाएर अपलोड गर्यौं,’ गजल यात्राका संस्थापकमध्येका एक गजलकार पवन लामिछानेले भने, ‘पछि सबैको सल्लाहमा यौटा सॉंगीतिक गजल नै तयार गर्ने योजना बन्यो। मलाई लाग्छ, नेपाली गजल गायनको इतिहासमा यो विल्कुलै नयाँ प्रयोग हो। गजलको क्षेत्रमा भइरहेको गुटबन्दी र आरोप्रपत्यारोप चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक सन्देश दिनेछ भन्ने आशा गरेका छौं।’

भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर