राष्ट्रपति निर्वाचनको सबै तयारी पूरा, भोलि नै परिणाम आउने

बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको बताए। उनले प्रदेश सभातर्फ ५५० जना र संघीय संसद्तर्फ ३३२ जना मतदाता रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद् भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको बताए।

ल्होत्से हलभित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरूले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए।संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने पनि उनले जानकारी गराए। उनले मतदान बिहान १० बजेदेखि सुरु भई ३ बजेसम्म हुने र ३ बजेपछि लामबद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने स्पष्ट पारे।

निर्वाचन अधिकृत पौडेलले मतदानका लागि लाइन बस्नुअघि संघीय सांसद र प्रदेश सांसदहरूलाई छुट्टाछुट्टै ‘वेटिङ रुम’ बनाइएको पनि जानकारी गराए। त्यस्तै मिडियाका लागि पनि ‘वेटिङ रुम’ को व्यवस्था गरिएको उनले बताए।

उनले अपराह्न ४ बजेदेखि मतगणनाको कार्य सुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य रहेको बताए। मत गणना सकिएसँगै ल्होत्से हलमै आएर मतपरिणामको घोषणा गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर