राष्ट्रपति निर्वाचन-२०७९

मतदानपछि नेम्वाङले भने- परिवारको सदस्य आयो भनेजस्तो सहज महसुस हुने सवारी हुनेछ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। बिहीबार संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने बताए।

उनले देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताए। उम्मेवार नेम्वाङले राष्ट्रपति निर्वाचनको लागि आफू उत्साहित रहेको बताए।

उनले भने,‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहित छु। विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ। नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ। त्यसैले म सफल रूपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रूपमा काम गर्नेछु। जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने मेरो कुरा हो। जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महसुस हुने सवारी हुनेछ। म सबै दल र सारा नेपालीहरूको साझा उम्मेदवार भएर राष्ट्रपतिको उम्मेदवार बनेको छु। यो देशका सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनपर्छ। अहिले देश र जनताको अघि साह्रै ठूलो चुनौती रहेको छ। त्यसैले देश, जनता र सबै राजनीतिक दल एक ठाउँमा उभिनपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर