धनुषामा हिरासत कक्ष फोडेर भागेका थप एक जना पक्राउ

धनुषामा प्रहरीकाे हिरासत कक्ष फाेडेर भागेका थप एक जना थुनुवा पक्राउ परेका छन्। महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार रहेका थुनुवा धनुषाको मिथिला नगरपालिका-७ का ३६ वर्षीय शंकर महतो पक्राउ परेका हुन्।

उनलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित भन्सार हुँदै लुकिछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

गत माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका–२ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए। गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए। जसमध्ये चारजनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो।

घटनापश्चात् जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक ‘सर्च अपरेशन’ चलाएको थियो। खोजतलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका–६ का २८ वर्षीय रोशन महतो, फागुन १७ गते शान्तिसुरक्षाविरुद्धको मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २५ वर्षीय हरिदीप सिंह र २५ वर्षीय अमित मण्डलाई पक्राउ गरेको थियो। यसैगरी लागुऔषध मुद्दाका अभियुक्त १८ गते राति क्षिरेश्वरनाथ नगरपालिका ५ का ३९ वर्षीय विनोद कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको थियो।

एक जना थुनुवा भने अझै फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *