किन बन्द भयो अमेरिकाको १६ औं ठूलो बैंक ?

अमेरिकाको बैंकिङ नियामकले वित्तीय संकटमा परेपछि शनिबार सिलिकन भ्याली बैंकलाई बन्द गरिदिएको छ । यो घटनापछि अमेरिकामा फेरि एकपटक बैंकिङ संकट आउनसक्ने आशंका बढेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार सन् २००८ मा आएको आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली हो । अमेरिकाको फेडेरल डिपोजिट इन्स्यारेन्स कर्पोरेसन (एफडीआईसी) बैंक बन्द गरेको हो । सोही संस्थाले बैंकको आगामी जिम्मेवारी लिएको छ ।

यसअघि सेयर बजारमा बैंकको सेयर कारोबारमा ६६ प्रतिशत गिरावट आएको थियो, जसका कारण बैंकको कारोबार रोकिएको थियो । प्रविधि सम्बन्धी कम्पनीहरुलाई कर्जा दिने उक्त बैंक बन्द हुने घोषणासँगै विश्वको सेयरबजारमा उतारचढाव देखिएको छ । केही बैंकको सेयर मूल्यमा कमी आएको छ । सन् २०२० मा पनि अमेरिकाको कान्सासस्थित अल्मेना स्टेट बैंक बन्द गरिएको थियो ।

सिलिकन भ्याली अमेरिकाको १६औं ठूलो बैंक हो । बैंकले घाटामा बन्ड बिक्री गरेपछि संकट देखिएको हो । त्यसपछि निक्षेपकर्ताहरुले रकम निकाल्न थालेपछि बैंकमा पुँजी संकट भएको हो । अमेरिकामा धेरै बैंकहरुले बन्डमा लगानी गरेका छ ।

सिलिकनले घाटामा बन्ड बेच्नुको कारण पछिल्लो समय अमेरिकामा बढ्दो ब्याजदर । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि त्यहाँको बन्ड माोकृट हालसम्मकै न्यून बिन्दूमा पुगेका छन् । त्यसकारण बैंकहरु समस्यामा परेका हुन् ।

गत डिसेम्बरसम्म बैंकको कुल सम्पत्ति करिब २ सय ९ अर्ब डलर थियो भने निक्षेप १ सय ७५ दशमलव ४ अर्ब डलर थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार पछिल्लो केही दिनमा अमेरिकाको बैंकको सेयर बजार मूल्यांकन १ सय अर्ब डलरले घटेको छ ।

यो बैंकले प्रविधि कम्पनीहरुमा लगानी गर्दै आएको थियो । तर, अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर बढाउने बित्तिकै यी कम्पनीहरुले नोक्सानी व्यहोर्न थाले जसका कारण पनि बैंक संकटमा परेको हो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर