पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न र एक जनालाई धरौटीमा छाड्न आदेश

ठगी र कीर्तेसहित चारवटा मुद्दामा पृथ्वीबहादुर शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश गरेको हो । अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पुस २२ मा पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये ६ जनालाई अदालतको आदेशअनुसार थुनामा पठाइएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दा चलाएको थियो ।

अमेरिकी नागरिकहरू ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि शाहसहितका ७ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको खुलेको छ ।

उनीहरूले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टिभाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *