उद्योगी व्यवसायीहरूले घेरे राष्ट्र बैंक

देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । मंगलबार केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दैै आएका देशभरका उद्योगी व्यवसायीहरूले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकअगाडि आन्दोलन गरेका हुन् ।

उद्योगी व्यवसायीहरूले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समयसमेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका छन् । देशभरका उद्योगी व्यवासायीहरूले राष्ट्र बैंकअगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षणसमेत गराएका छन् ।

विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरू आफ्ना पीडा पोख्नका लागि राष्ट्र बैंक आएको बताए । उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले अर्को ब्याजदर दिएको बताए ।

उनले यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको बताए । उनले व्यवसायीहरूको व्यापार सुस्त भएको अवस्थामा उच्च ब्याज दिनसक्ने अवस्था नभएको बताए । उनले सरकारले व्यवसायीहरूसँग छलफल गरी सामाधान गर्न आग्रह गरे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरूको आन्दोलन निरन्तर चल्ने बताए । उनले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने बताए ।

उनले ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायीत्व आवश्यक रहेको बताए । उनले अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीहरूले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न नसक्ने अवस्था नभएको बताए ।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरू बैंकविरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकायहरू समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाए । उनले पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरू मर्कामा परेको बताए । उनले बैंकहरूले उद्योगी व्यवसायीहरूलाई सुकुम्वासी बनाउने काम गर्न लागेको बताए ।

विगत एक वर्षदेखि बैंकको ज्यादतीविरुद्ध आन्दोलनमा रहे पनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैंक गर्न बाध्य भएको व्यवसायीहरूले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आबद्ध भएका वस्तुगत संघहरूको आन्दोलनमा सहभागिता रहेको छ । आन्दोलनमा व्यवसायीहरूले बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजीकर्जा मार्गदर्शन  स्थगन गर, ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर