जर्मन दूतावासको सहकार्यमा बुधबार ‘नदीहरू दक्षिण एशियाका लागि जीवन रेखा’ क्षेत्रीय सम्मेलन हुँदै

काठमाठौंस्थित जर्मनीको राजदूतवास, समृद्धि फाउण्डेशन र जर्मन नेपाल सोसाइटी संघसँगको सहकार्यमा फ्रेडरिक नौमन फाउण्डेशन फर फ्रीडम (एफएनएफ) को दक्षिण एशिया क्षेत्रीय कार्यालयले ‘नदीहरू दक्षिण एशियाका लागि जीवन रेखा’ नामक क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ।

बुधबार ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनको मुख्य उद्देश्य क्षेत्रीय संवादलाई बढावा दिन र क्षेत्रीय सीमापार सहयोगलाई सुदृढ गर्न सरोकारवालाहरूको नेटवर्क निर्माण गर्नु रहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार सम्मेलनमा विज्ञहरूले साझा नदीहरूले प्रदान गर्ने चुनौती र अवसरहरू, जलस्रोतमा सम्भावित द्वन्द्व रोक्न र शान्तिपूर्ण सहअस्तित्वमा योगदान पुर्‍याउन नदी-कूटनीति र बहुपक्षीय सहयोग प्रवर्द्धन गर्ने उपायहरूबारे छलफल गर्नेछन्। सम्मेलनमा जलविज्ञान विज्ञ, राजनीतिज्ञ, पत्रकार, शिक्षाविद्, संघसंस्था र नागरिक समाजजस्ता सरोकारवालाहरूसँग छलफल हुनेछ।

सम्मेलनमा आठ एशियाली देशका साथै युरोप र तिब्बती समुदायका गरी १४ वक्ताको सहभागिता रहनेछ। सम्मेलनले नदी स्रोतमा क्षेत्रीय सहयोगको सम्भावना र चुनौतीहरूबारे टिप्पणी गर्न दक्षिण एशियाका तीन जना विज्ञहरूलाई पनि आमन्त्रण गरेको छ। उनीहरूले जलवायु परिवर्तन र दक्षिण एशियामा यसको प्रभाव न्यूनीकरण गर्न क्षेत्रीय सहयोगको महत्त्वका विषयमा पनि छलफल गर्नेछन्।

अन्तरदेशीय जल सहयोग र जलराजनीति, नदी र अर्थतन्त्र, कृषि, ऊर्जा र व्यापार, नदीहरूको भविष्य र जलवायु परिवर्तनको प्रभावजस्ता विभिन्न विषयमा छलफल गर्न तीन अन्तरक्रियात्मक सत्रहरू हुनेछन्।

कार्यक्रममा जर्मन दूतावासका मिशन उपप्रमुख तथा विकास सहयोग र अर्थशास्त्र प्रमुख डा. स्टेफन रुसेक, फ्रेडरिक नौमन फाउण्डेशन फर फ्रीडम (एफएनएफ) को दक्षिण एशिया क्षेत्रीय कार्यालयका प्रमुख डा. कार्स्टेन क्लाइन जर्मन-नेपाल सोसाइटीका अध्यक्ष राम थापा, नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सांसद गगन थापालगायत प्रमख वक्ता रहनेछन्। प्रमुख वक्ताहरूले नदीहरूसम्बन्धी विभिन्न मुद्दाहरूलाई सम्बोधन गर्ने दूतावासले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर