मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा

कांग्रेस-एमालेसहितका किसान संघ संगठनहरूले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

पत्रकार सम्मेलनमा सो माग तत्काल सम्बोधन गराउनका लागि दबाबस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउनेसहितका आन्दोलनका कार्यक्रम पनि घोषणा गरिएको छ।

किसानहरूलाई दिइँदै आएको एक मात्रै सो अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए। उनले किसानलाई राहत दिनका लागि सुरु गरिएको आन्दोलन आफूहरूको माग पूरा नभएसम्म जारी रहने चेतावनीसमेत दिए।

यही फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। सरकारको सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ संगठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दबाबस्वरूप आन्दोलन सुरु गरेका छन। पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर