नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

यही २ देखि ६ चैतसम्म हुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी पूरा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निफले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । त्यस्तै समापन भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ ।

कार्यक्रममा निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । महोत्सवको तयारीका लागि निफ टिम विगत तीन महिनायता लागिपरेको उनको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षित रूपमा सफलता पाइरहेको बताए । उनले निफ महत्त्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मीहरू सहभागी हुन र चलचित्र हेर्न दर्शकहरू पनि उपस्थित हुनुपर्ने बताए । चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर बचनवद्धता गर्ने आशा राखेको उनको भनाइ छ ।

निफका अध्यक्ष केपी पाठकले यसपटकको महोत्सवमा ५० जनाभन्दा बढी फिल्म मेकरहरू बाहिरी देशबाट आउने जानकारी दिए । निफलाई विश्वास गरेर विगत झैँ यसपटक पनि राम्रा फिल्म र फिल्म मेकरहरूले मेलामा सहभागीता जनाउने बचनबद्धता दिएको उनको भनाइ छ ।

५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले जानकारी दिएको छ । यी चलचित्रको प्रदर्शन काठमाडौंका सिनेमा हलहरू सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ ।

ओपनिङ फिल्मको रूपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन हुनेछ । उल्लेखित सिनेमा हलहरूमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर