राष्ट्रपति पौडेललाई पत्रकार महासंघको बधाई

नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरे । भेटमा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकार जगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता संगठनका रूपमा महासंघले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले सत्यतथ्य सूचना प्रवाहमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गरे ।

समाजमा भएका विकृति, विसंगतिप्रति पत्रकार जगत सचेत भएर कलम चलाइरहनुपर्नेमा उनको जोड थियो । ‘गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपर्छ,’ उनले भने ।

महासंघका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताए । भेटमा महासंघका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *