रवि लामिछानेविरुद्ध राहदानी मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी ऐनविपरीतको कसुरमा मुद्दा चलाउन नसकिने निर्णय गरेका छन्।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए।

उनले भने, ‘झुठो विवरण पेस भएको भन्ने देखिएन, त्यो राहदानी विभागमा पुगेर रद्दसमेत भइसकेको रहेछ। त्यसकारण मुद्दा नचल्ने निर्णय भयो।’

लामिछानेले झुटो विवरण पेस गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने प्रहरीको राय थियो। कुनै पनि फौजदारी कसुर हुने जाहेरीका आधारमा मुद्दा नचल्ने भएमा प्रहरीले पेस गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलले निर्णय गर्नुपर्ने व्यवस्था थियो।

त्यसअनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो।

कार्यालयमा नायब महान्यायाधिवक्ताले दिएको रायसहितको प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता पोखरेलले मुद्दा नचलाउने निर्णय गरेका हुन्।

लामिछानले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्र लिएका थिए। अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे।

अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा पुरानै नागरिकता देखाएर नेपाली राहदानी लिए। लामिछाने नेपाल फर्कंदा अमेरिकाको नागरिकता त्यागेका थिएनन्।

सर्वोच्च अदालतले ३ माघ २०७९ मा विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने व्याख्या गरेको छ। ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर