एआईजी किरण बज्राचार्य बनिन् प्रहरी महानिरीक्षकको पहिलो महिला प्रतिस्पर्धी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदको पहिलो महिला प्रतिस्पर्धी बनेकी छन्। सरकारले सोमबार बज्राचार्यसहित पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई एआईजीमा बढुवा गरेसँगै उनी भावी आईजीपीका लागि पहिलो महिला प्रतिस्पर्धी बनेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। ३० वर्षे सेवा अवधिका कारण हालका आईजीपी धीरजप्रताप सिंह चैत्र ११ गतेदेखि अवकाशमा जाँदैछन्। यससँगै बढुवा भएका पाँच एआईजीमध्येबाट एक जना नयाँ आईजीपी बन्ने सम्भावना छ।

तर, आईजीपी सिंह प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर आफ्नो पदावधि लम्ब्याउने कसरतमा छन्। उनको यो प्रयास सफल नभएको अवस्थामा पाँच एआईजीमध्येबाट एक जना आईजीपी बन्ने बाटो खुल्नेछ।

यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ डा. आशा सिंह तथा प्रशासनतर्फ पूजा सिंह एआईजीमा बढुवा भएका थिए। तर, उनीहरू आईजीपी बन्ने गरी समूहगत बढुवामा परेका थिएनन्।

एआईजी बढुवामा बज्राचार्य पाँचौं नम्बरमा छिन्। प्रहरी नियमावलीमा सरकारले चाहेको एआईजी र डीआईजीबाट प्रहरी प्रमुख चयन गर्न पाउने व्यवस्था रहेको छ। प्रहरी नियमावली, २०७१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व वहन गर्ने क्षमता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले उपयुक्त ठानेको जोसुकै एआईजीबाट समेत आईजीपी नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ।

बज्राचार्य आईजीपी बनेमा उनी नेपाल प्रहरीको पहिलो महिला आईजीपी हुनेछिन्।

३० वर्षे सेवा अवधि नहटे सरकारले नेपाल प्रहरीको १०८औं ब्याचबाट ३०औं प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ। प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाएर उमेर हद तथा पदअनुसारको कार्यकाल कायम गर्नेबारे गृह मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालय र कानून मन्त्रालयले स्वीकृति दिइसकेकाले यो प्रावधान हट्न सक्ने सम्भावना पनि रहेको प्रहरी उच्च स्रोतको दाबी छ। निजामती सेवा तथा नेपाली सेनामा समेत ३० वर्षे सेवा हटेको भन्दै प्रहरीमा समेत यसलाई हटाउने विभिन्न प्रयास भइरहेका छन्।

गृह मन्त्रालयले तयार पारेको प्रस्तावमा सेवा अवधिलाई हटाएर प्रहरी महानिरीक्षकको पदावधि तीन वर्ष तथा उमेर हद ५७ वर्ष कायम गरिएको छ। त्यसैगरी एआईजी र एसएसपीको अवकाशको अवधि ५६ वर्ष, एसपीको ५५ वर्ष, प्रहरी नायब उपरीक्षकको ५४ वर्ष, सिपाहीको ५१ वर्ष पुर्‍याइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर