नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको खुलासा

तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिने गिरोह पक्राउ

प्रहरीले तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ५ गते पक्राउ गरी उनीहरूलाई बुधबार सार्वजनिक गरेको हो।

कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले उनीहरूले काठमाडौंको बबरमहल क्षेत्रमा बसेर सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत कीर्ते गरी झुटा लिखत तथा नक्कली सिफारिस तयार गरी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकतासमेत बनाइदिने गरेको अनुसन्धानमा खलेको बताए।

पक्राउ पर्नेहरूमा झापाको कचनकबलका कृष्णबहादुर कटवाल, भक्तपुरको मध्यपुर थिमिका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित तिब्बती शरणार्थी क्याम्पका लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन्।

पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाका शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्ध विच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्त्वपूर्ण कागजातहरू कीर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला परिसर, टेकु पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गैरनेपाली विशेष गरी तिब्बती शरणार्थीहरूको सक्कली नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बुबाको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको पाइएको छ।

पक्राउ परेका न्युल्केश श्रेष्ठलाई नक्कली बुबा बनाउने गरेको खुलेको छ। श्रेष्ठले हालसम्म गैरनेपाली तिब्बती व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कली नागरिकता बनाउन नक्कली बुबा बनी सहयोग गरेको खुलेको छ। उनले नक्कली बुबा बनेर ३ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ।

पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन क्याम्पमा नै बस्दै आएका र २०७९ साल फागुन ३० गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना काठमाडौं महानगरपालिका-१७ राखी २७ ०१ ७९ १५९०१ नम्बरको नेपाली नागरिकता लिएको प्रहरीले बताएको छ।

यसैगरी नागकिरता लिएका अन्य २५-३० जना सक्कली नागरिकता प्राप्त भएको र सोबारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयको छाप ४ थान, ई-पासपोर्ट एप्लिकेशन फर्म २ थान, नागरिकता, जन्मदर्ता, लाइसेन्सलगायतका परिचयपत्रहरूको फोटोहरू ५ सय थान, नेपाली नगद ३ लाख ५० हजार ५ सय र ७ थान मोबाइल बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर