सरकारको सामाजिक सुरक्षासम्बन्धी दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्छ : मुख्यसचिव

नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताएका छन्। बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताए। उनले कुल गार्हस्थ उत्पादनको ५.१८ प्रतिशत र बजेटको १२ प्रतिशतमाथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको भन्दै वर्षैपच्छिे सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप पर्ने गरेको बताए।

मुख्यसचिव वैरागीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई कम गर्दैै लैजान सक्नुपर्ने बताए। उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्न सहयोग पुग्ने बताए।

उनले राष्ट्रिय पुँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुनसक्ने उल्लेख गरे। उनले तरलता व्यवस्थापन गर्न पनि कोषको महत्त्वपूर्ण भूमिका रहने बताए।

उनले अनौपचारिक क्षेत्रमा कार्यरत र स्वरोजगारमा आबद्ध व्यक्तिहरूलाई सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिएको भन्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजना ल्याउनु राम्रो भएको बताए।

उनले सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी रहेको बताए। उनले सामाजिक सुरक्षा दायरा बढाउँदै सामाजिक संरक्षण दिगो र उत्पादनमुखी बनाउन सामाजिक सुरक्षा ऐन पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर