चितवन-२ उपनिर्वाचन

संसद् फर्किने दाउमा रवि, विरासत फर्काउन खोज्दै कांग्रेस र एमाले

गत प्रतिनिधिसभामा सर्वाधिक चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ बाट नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उदय भएको थियो । सञ्चार पृष्ठभूमिका लामिछाने पुराना दलप्रतिको वितृष्णा र आफ्नो ‘भाइरल’ छविका कारण जनमत बटुल्न सफल भएका थिए । निर्वाचनमा रास्वपा चौथो ठूलो दल भएपछि लामिछाने पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भए, गृहमन्त्री पनि बने । तर, नागरिकता विवादका कारण सर्वोच्च अदालतको आदेशपछि उनको सांसद पद खारेज भयो । त्यसैले १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा चितवन-२ मा कसले बाजी मार्ला भन्ने रोचक बनेको छ ।

त्यसयता लामिछानेले नयाँ नागरिकता लिएका छन् भने उनको राहदानी विवादमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरिसकेको छ । त्यसैले फेरि चितवनबाट निर्वाचित भएर संसद आउने दाउमा लामिछाने छन् । यसका लागि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन कायम नै राखेका छन् । एमालेसँग मिलेर दाहाल प्रधानमन्त्री हुँदा रास्वपाले समर्थन गरेको थियो । दाहालले कित्ता परिवर्तन गरेर कांग्रेससँग मिल्दा पनि रास्वपाले समर्थन कायम नै राखेको हो ।

चितवनसँगै तनहुँ र बारामा पनि १० वैशाखमा उपनिर्वाचन हुँदै छ । सत्ता गठबन्धनका कांग्रेस, माओवादी र नेकपा एसबीच यी क्षेत्रमा उम्मेदवार भागबण्डमा कसरी सहमति हुन्छ भन्ने अहम् हुनेछ । तनहुँमा नेकपा एसको दाबी छ भने बारामा सत्ता गठबन्धनकै जसपाको दाबी छ । त्यसैले चितवनमा कांग्रेसले लामिछानेलाई हराई पुरानो विरासत फर्काउने प्रयास गर्नेछ ।

एमालेको प्रभाव क्षेत्र चितवन-२ मा २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए । तर गत निर्वाचनमा भने पोखरेल लामिछानेसँग हारे । त्यसैले एमालेले पनि सो क्षेत्रमा आफ्नो विरासत फर्काउन खोज्नेछ ।

गत निर्वाचनमा लामिछाने ४९ हजार २६४ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ र एमालेका पोखरेलले १४ हजार ६६७ मत पाएका थिए । ८३ हजार ९५६ जनाले मतदान गरेको यो क्षेत्रमा लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३४ हजार २८१ मतले पछि पारेका थिए । कांग्रेसका श्रेष्ठ र एमालेका पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको क्षेत्रमा लामिछानेको आगमनले राजनीतिक नक्सा नै परिवर्तन गरेको थियो ।

यसपटक उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार आकांक्षी ११ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । गत निर्वाचनमा पराजय भोगेका कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठसहित जिल्ला पार्टी सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, देवेन्द्र गुरुङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपिन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम सिफारिस भएको हो । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २ चितवनको बैठकले उनीहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाएको क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।

एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, कालिका नगरपालिकाका निवर्तमान मेयर गोपी श्रेष्ठमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । माओवादी भने आफ्नो उम्मेदवार उठाउने वा अन्य उम्मेदवारलाई सहयोग गर्ने भन्ने निष्कर्षमा पुगिसकेको छैन ।

 

प्रतिक्रिया

One thought on “संसद् फर्किने दाउमा रवि, विरासत फर्काउन खोज्दै कांग्रेस र एमाले

  1. रामप्रसाद भट्टराई चितवन क्षेत्र नं०२ नेपाल says:

    नेकपा एमाले ले चितवन क्षेत्र नं०२ बाट ८०% जनमत लिई विजय प्राप्त गर्नु पर्छ यसै मा राष्ट्रहित हुने छ ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर