गैरशिक्षक व्यक्तिलाई शिक्षकको जागिर, तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ६ जनाविरुद्ध मुद्दा

तत्कालीन जिल्ला शिक्षा कार्यालय, बैतडीका जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

उनीसहितले नियुक्ति नै नभएको व्यक्तिलाई झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

भट्टसहित जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक स्वर्गीय सञ्जय ठाकुर दनुवार, गैरशिक्षक भएर पनि शिक्षकको जागिर खाने मनकाकुमारी अवस्थी, जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोतव्यक्ति हरिनाथ, बलैराज निम्न माध्यमकि विद्यालयका प्रधानाध्यापक नरबहादुर कुँवर र व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीविरुद्ध मुद्दा दर्ता भएको हो।

यसरी गैरशिक्षक व्यक्तिलाई शिक्षकको जागिरमा लगाएर तलबभत्ता भुक्तानी गरी ७४ हजार ९२० रुपैयाँ सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय, सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी बिना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफैं स्वीकृत गरी उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय, सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधाहरू निकासा दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरेको अख्तिायारको आरोप छ।

यस्तै जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक स्वर्गीय सञ्जय ठाकुर दनुवारले हुनैनाथ प्रावि, सल्सेनामा शिक्षक पद रिक्त नै नभएको, शिक्षक नियुक्तिको लागि अनुमतिपत्र नै माग नगरेको र उक्त विद्यालयले शिक्षक पदमा कसैलाई पनि नियुक्तिपत्र नै नदिएको अवस्थामा बिना कुनै कागजात मनकाकुमारी अवस्थीको नियुक्तिको अभिलेखीकरण गर्नका लागि टिप्पणी उठाएको दाबी गरिएको छ।

मनकाकुमारी अवस्थीले हुनैनाथ प्राथमिक विद्यालय, सल्सेनाबाट शिक्षक पदको कुनै नियुक्तिपत्र नलिएको, जिल्ला शिक्षा कार्यालयबाट अवैधरुपमा दिइएको शिक्षक नियुक्तिको अभिलेख जनाइएको पत्र र उक्त विद्यालयबाट बलैराज नि.मा.वि., सुनखोलामा सरुवा भएको झुटो पत्र लिएर बलैराज नि.मा.वि., सुनखोलामा गई हाजिर भई नियुक्ति नै नभएको अवस्थामा समेत झुट्टो सरुवापत्रको आधारमा शिक्षक कायम भई पारिश्रमिक लिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको दाबी गरिएको छ।

जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोतव्यक्ति हरिनाथले आफ्नो स्रोतकेन्द्र अन्तर्गत रहेको हुनैनाथ प्राथमिक विद्यालय सल्सेनामा शिक्षक पद रिक्त नरहेको, सो विद्यालयले मनकाकुमारी अवस्थीलाई शिक्षक पदमा नियुक्ति नगरेको, मनकाकुमारी अवस्थीसँग नियुक्तिपत्र नभएको जानकारी भएर पनि उक्त विद्यालयबाट बलैराज नि.मा.वि., सुनखोलामा सरुवा भएको झुटो पत्र लिएर मनकाकुमारीसँग बलैराज नि.मा.वि., सुनखोलामा गई हाजिर गराउने कार्य गरी जिल्ला शिक्षा अधिकारीको अनियमित कार्यमा मतियार भई सहयोग गरेको देखिएको अख्तियारको ठहर छ।

बलैराज नि.मा. विद्यालयका प्रधानाध्यापक नरबहादुर कुँवरले मनकाकुमारी अवस्थीलाई आफ्नो विद्यालयमा सरुवा हुन सहमतिपत्र नदिएको अवस्थामा र हुनैनाथ प्रा.वि., सल्सेनाको रमानापत्र नभएको जानकारी हुँदाहुँदै समेत बिना रमानापत्र आफ्नो विद्यालयमा हाजिर गराई, शिक्षक पदमा कायम गरी नियुक्तिपत्र नभएको व्यक्तिलाई कानूनविपरीत पारिश्रमिक भुक्तानी दिएको दाबी अख्यिारले गरेको छ।

साथै बलैराज नि.मा. विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले मनकाकुमारी अवस्थीलाई अन्य विद्यालयबाट आफ्नो विद्यालयमा सरुवा भई आउन कुनै पनि निर्णय र सिफारिससमेत नगरेको अवस्थामा र उनीसँग हुनैनाथ प्रा.वि. सल्सेनाको रमानापत्र नभएको जानकारी हुँदाहुँदै समेत बिना रमानापत्र आफ्नो विद्यालयमा हाजिर गराई शिक्षक पदमा कायम गरी कानूनविपरीत प्रधानाध्यापक र उनको संयुक्त दस्तखतबाट पारिश्रमिक भुक्तानी दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर