अमेरिकाको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु

अमेरिकाको नासभिल शहरस्थित एक क्रिश्चियन विद्यालयमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ।

टेनेसी राज्यमा पर्ने कोभिनान्ट स्कुलमा मंगलबार हतियारधारी व्यक्ति प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो।

बीबीसीका अनुसार मृत्यु हुने बालबालिकामा एभलिन डाइकोस, हेली स्क्रग्स र विलियम किनी छन्। उनीहरू तीनै जना ९ वर्षभन्दा कम उमेरका थिए।

गोली लागेर ६१ वर्षीया सिन्थिया पिक, ६० वषीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको पनि मृत्यु भएको छ। उनीहरू विद्यालयका कर्मचारी रहेको नासभिल नगरप्रहरीले जनाएको छ।

क्याथरिन प्रधानाध्यापक, पिक अतिरिक्त शिक्षिका र हिल सुरक्षागार्डका रूपमा विद्यालयमा कार्यरत थिए।

विद्यालयमा प्रवेश गरी गोली चलाउने व्यक्ति २८ वर्षीया अउड्रे हेल रहेको पुष्टि भएको छ। घटनालगत्तै पुगेको प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको छ।

उनी सोही विद्यालयका पूर्वविद्यार्थी रहेको खुलेको छ। प्रहरीका अनुसार उनी ट्रान्सजेन्डर हुन्।

कोभिनान्ट स्कुल एक निजी क्रिश्चियन विद्यालय हो। तीन वर्षदेखि १२ वर्षसम्मका २०० जनाभन्दा बढी विद्यार्थी रहेको त्यस विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा ६ सम्म अध्यापन हुने बताइएको छ।

घटनापछि नासभिलका नगरप्रमुख जोन कुपरले विज्ञप्ति जारी गर्दै स्कुलमा गोली चल्नु अत्यन्तै डरलाग्दो विषय भएको बताए। उनले आफू र सिंगो शहर पीडित परिवारको पक्षमा रहेको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनालाई परिवारको सबैभन्दा डरलाग्दो सपना भनेका छन्। उनले बन्दुक हिंसा रोक्नका लागि बन्दुक नियन्त्रण कानुन पारित गर्नुपर्ने बताउँदै सहयोगका लागि कांग्रेससँग आग्रह गरे।

‘यसले हाम्रो समुदायलाई अलग पार्दैछ र राष्ट्रको आत्मालाई चिर्दै छ,’ राष्ट्रपति बाइडेनले विज्ञप्तिमार्फत भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर