खोटो बिक्री गरेर लाखौं आम्दानी गर्छन् दाङका सामुदायिक वन समूह

दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार रुपैयाँ बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ ।

डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो १२ रुपैयाँ र निकासी कर प्रतिकिलो १२ रुपैयाँ राजस्व तिर्ने गरेका छन् । ‘वन समूहबाट वार्षिक रूपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ,’ उनले भने ।

जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । तर, बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख मर्न थालेका स्थानीयले बताएका छन् । वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिनुभयो । सो वन समूहले यस वर्ष करिब दुई लाख ५० हजार रुपैयाँको खोटो बिक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो १२ रुपैयाँका दरले खोटो खरिद गर्दै आएको छ । वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिव २२ हजार पाँच सय किलो खोटो बिक्री गरेको छ ।

वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो सङ्कलन गर्छ । खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ । ‘रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ । आगोले भेटे रुख मर्छ’ उनले भने, ‘खोटो निकाल्दैमा रुख केही हुँदैन, आगोबाट भने बचाउनु पर्छ ।’

त्यसैगरी वडा नं. ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउँछन् । सल्लाको रुखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन गर्ने गरिन्छ । ‘चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो सङ्कलन गरिन्छ,’ उनले भने ।

बङ्गलाचुली–८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहले खोटो सङ्कलन गर्दै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर