प्रचण्ड सरकारको सय दिन : कसकाे के छ प्रतिक्रिया ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको सोमबार (भोलि) सय दिन पुग्दैछ । प्रधानमन्त्री दाहाल पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने पुष ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पहिलो पटक मन्त्रिपरिषद् गठन गरेका थिए । सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानून निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् ।

उनले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरू व्यवस्थित हुँदै गरेको जिकिर गरिन् । त्यस्तै किसानको समस्या समाधान गर्न दूध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताइन् । सरकारले समयमै पाठ्यपुस्तक पुर्‍याउने तयारी गरिरहेको पनि उनले बताए ।

त्यस्तै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको टिप्पणी गरे । उनले पछिल्लो समय प्रधानमन्त्रीले सरकार पुनर्गठन गरेसँगै सरकारले गति लिने अवस्था बनेको बताए ।

उनले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्तारूढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने पनि स्पष्ट पारे ।
नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले सरकारको सय दिन राजनीतिक रूपमा अस्तव्यस्त रहेको टिप्पणी गरे । उनले सरकारले ‘डेलिभरीका कामहरू’ प्रारम्भ गरेको भन्दै आगामी दिनमा ति कामहरूले गति पाउनेमा विश्वास व्यक्त गरे । उनले सरकारलाई अब कुनै रोकतोक नहुने भन्दै सरकारले गति लिनुपर्ने धारणा राखे ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सरकारले कुनै पनि काममा सकारात्मक पहलकदमी लिन नसकेको बताए । उनले एमाले सरकारमा रहँदा अर्थतन्त्रमा आशा जागेको भन्दै गठबन्धन परिवर्तन भएसँगै सो आशा निराशामा परिणत भएको बताए । उनले देशको परिस्थिति गम्भीर रहेको उल्लेख गरे ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सय दिनमा सरकारले धेरै राम्रा निर्णय गरेको बताए । उनले सरकारले गरेका निर्णयहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले मिटरब्याजीहरूलाई एक महिना भित्रैमा कारबाही गर्नुपर्नेमा उनले जोड दिए । उनले रोकिएका ऐनहरू छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रित भएको प्रतिक्रिया दिए । उनले सरकारमा चुनावअघिको गठबन्धन ब्यूँतिएसँगै संविधानको रक्षा हुने विश्वास बनेको बताए । उनले सरकारले आगामी दिनमा जनताको भावना अनुरूप काम गर्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर