सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

अख्तियारले तत्कालीन नगर प्रमुख थापाविरुद्ध ५० लाख बिगो कायम गरी मुद्दा दर्ता गरेको छ।

यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

यसैगरी लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जीएम र नमुना समाज सुर्खेतकी अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ बिगो कायम गरी सजाय हुन र बिगो रकमसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *