पैसा नआउने भएर होला शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा पर्दैन : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वशिक्षामन्त्रीसमेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

उनले नेताहरू मन्त्री बन्नका लागि तँछाडमछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरूको रोजाइमा पर्ने गरेको बताए । पैसा नआउने मन्त्रालय भएका कारण पनि शिक्षा मन्त्रालय अधिकांश नेताहरूको रोजाइमा नपर्ने गरेको उनको आरोप छ ।

नेता पौडेलले सामुदायिक शिक्षाको सुधार गर्न सके शिक्षा मन्त्रालय नेताहरूको पहिलो रोजाइमा पर्ने दाबी गरे । बाटो बनाउने मन्त्रालय भन्दा नागरिक बनाउने मन्त्रालय कम प्राथमिकतामा पर्ने गरेको उनको गुनासो छ ।

‘तँछाडमछाड गरेर मन्त्रालय लिनका लागि भागबण्डामा साथीहरू हिँड्ने गर्नुहुन्छ । त्यो भागबण्डामा सबैभन्दा पहिला शिक्षा मन्त्रालय रोज्नको लागि अघि बढ्ने गरी विद्यालय शिक्षाको सुधार गर्न सके बाटो बनाउने मन्त्रालय भन्दा मान्छे बनाउने मन्त्रालय, नागरिक बनाउने मन्त्रालयलाई पहिलो प्राथमिकता राख्नुपर्छ । पैसा आउँदैन होला तर नागरिक बनाउने मन्त्रालयलाई पहिलो जोड दिने गरी काम गर्नुपर्छ,’ पौडेलले भने ।

सचिव पौडेलले स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति र शिक्षकको सुधार गर्न सके सार्वजनिक विद्यालय आफैं आकर्षणको केन्द्र बन्ने दाबी पनि गरे । संघीय शिक्षा ऐन जारी नगरेसम्म सार्वजनिक शिक्षामा सुधार गर्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *