शान्ति मिसनमा प्रहरीको सहभागिता बढाउन प्रशिक्षक प्रशिक्षण तालिम महत्त्वपूर्ण : आईजीपी कुँवर

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित पूर्वमिसन परीक्षा सञ्चालन प्रशिक्षक प्रशिक्षण तथा कार्यशाला सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रमबीच तालिम समापन भएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरू एवं प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्दै यस तालिममा प्रशिक्षकको अनुभव, विशेषज्ञता एवम् योगदानले सहभागी प्रशिक्षार्थीहरूका साथै प्रहरी संगठनको समेत क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको चर्चा गरे ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिजाने प्रहरी कर्मचारीहरूका लागि लिइने पूर्वमिसन परीक्षा सञ्चालनमा यस तालिम महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले यूएन मिसनमा नेपाल प्रहरीको सहभागितालाई वृद्धि गर्न र यसका लागि आवश्यक पूर्वतयारीको लागिसमेत यस्तो तालिम फलदायी हुने बताए । साथै आगामी दिनमा समेत नेपाल प्रहरी र नर्वे प्रहरीबीच एकआपसमा सहकार्य र समन्वय भइरहने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा नर्वेजियन पुलिस युनिभर्सिटी कलेजका सुपिरिटेन्डेन्ट अफ पुलिस (एसपी) एन क्रिस्टिनले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रहरी र नर्वे प्रहरीको सहकार्यमा गत चैत १५ गतेबाट सञ्चालित उक्त तालिममा प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रहरी उपरीक्षक ७ जना, प्रहरी नायब उपरीक्षक ९ जना, प्रहरी निरीक्षक १० जना र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक २ जना गरी कुल ३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर