प्रहरी र सनराइज बैंकबीच छात्रवृत्ति स्थापनासम्बन्धी समझदारी

नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्झौताका लागि सनराइज बैंकलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी कामकारबाहीलगायत अन्य कल्याणकारी कार्यक्रमहरूमा सहजीकरण र सबलीकरण गर्ने प्रयासमा सनराइज बैंकले गरेको समन्वय प्रशंसनीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमासमेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा व्यक्त गरे ।

उक्त अवसरमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल प्रहरीले आम नागरिकलाई सुरक्षित जिवनयापन र सुरक्षाको प्रत्याभूति दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताए । यस सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सनराइज बैंकबीचको सम्बन्धमा अझै प्रगाढ हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौं, धरान सुनसरी, गरुडा रौतहट, शान्तिपुर चितवन, बेलचौतारा तनहुँ, घोराही दाङ, वीरेन्द्रनगर सुर्खेत र धनगढी कैलाली समेत गरी ८ वटा नेपाल पुलिस स्कुलहरूका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ जना विद्यार्थीहरूलाई जम्मा ९ वर्ष सम्मको अध्ययनको लागि छात्रवृत्ति रकम प्रदान गरिने छ ।

यस छात्रवृत्ति कार्यक्रमबाट अमर/शहीद एवं अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवं पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका सन्ततिहरूमध्ये जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराइने छ । शैक्षिक सत्र २०८० देखि नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीहरूको जेहेन्दार छात्रछात्राहरूलाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्चसमेत गरी एकमुष्ट छात्रवृत्ति रकम प्रदान गरिने छ । नेपाल पुलिस स्कुलहरूको शैक्षिक शुल्कहरू वृद्धि भएमा निर्धारित शुल्कको अधिकतम १५% सम्मको वृद्धि रकम सनराइज बैंकबाट छात्रवृत्ति रकम प्रदान गरिने छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूलगायत सनराइज बैंक लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर