अफगानिस्तानबाट बेलायत लगिएका नेपाली सुरक्षागार्डको निष्कासन स्थगित

अफगानिस्तानको काबुलस्थित ब्रिटिश दूतावासबाट बेलायत लगिएका नेपाली सुरक्षागार्डलाई उक्त देशले तत्काल फिर्ता नपठाउने भएको छ । सन् २०२१ मा अफगानिस्तानको सत्तामा तालिवान आएपछि त्यहाँस्थित आफ्नो दूतावासमा रहेका नेपाली सुरक्षागार्डलाई उद्धार गरेर बेलायतले आफ्नो देश लगेको थियो ।

उनीहरुलाई निष्कासन गरी नेपाल र भारत पठाउन आदेश जारी भएको थियो । त्यसपछि उनीहरु बसेको होटलमा पनि छापा मारिएको थियो । तर, बेलायतको गृह मन्त्रालयका अनुसार हाल उक्त आदेश कार्यान्वयन रोकिएको छ ।

मन्त्रालयका प्रवक्ताले बुधबार तत्काल नेपाली सुरक्षा गार्डलाई निष्कासन गर्ने निर्णय रोकिएको र यसबारे समीक्षा हुने बीबीसीलाई बताएका छन् । उनीहरुलाई केही समयअघि स्थायी बसोबासका लागि बेलायतमा बस्न अनुमति दिइएको थियो । बेलायती गृह मन्त्रालयले त्यस्तो अनुमति पाएकालाई निष्कासन गर्ने कुरामा सत्यता नरहेको जनाएको थियो ।

काबुलस्थित ब्रिटिश र क्यानेडियन दूतावासको सुरक्षाका लागि १३ जना पूर्व नेपाली सैनिकहरु खटाइएको थियो । पछिल्लो साता, तीमध्ये १० जनालाई उनीहरु बसिरहेको पश्चिम लन्डनस्थित होटलबाट पक्राउ गरिएको थियो । जहाँ उनीहरु अफगानी शरणार्थीहरुलाई खाना बनाएर दिने काम गर्दै आएका थिए ।

उनीहरुलाई ग्याट्विक र हिथ्रो विमानस्थल नजिक आप्रवासन निष्कासन केन्द्रमा राखिएको थियो । बिहीबारको पहिलो फ्लाइटमा उनीहरुलाई स्वदेश फर्काइने जनाइएको थियो । निष्कासनमा पर्न लागेको समूहका वकिल जेमी बेलले स्वदेश फिर्ता पठाइने तत्कालका लागि रोकिएको जानकारी दिए ।

‘हाम्रो सेवाग्राहीको लागि खुसीको कुरा छ कि उनीहरुको निष्कासन रोकिएको छ,’ उनले भने, ‘तर यस्तो किन भयो भनेर प्रशन पनि उठेको छ ।’ सञ्चारमाध्यमको चासो र कानुनी उपचारअघि नै यसबारेमा किन समीक्षा गरिएन भन्ने प्रश्न उठेको उनको भनाइ छ ।

तालिवान अफगानिस्तानको सत्तामा आएपछि दिइएको अवसरबारे अहिले प्रश्न उठेको उनले बताए । ‘यी योजनाहरु तयारी, कार्यान्वयन दयनीय छ, जसका कारण वास्तविक समस्यामा परेका व्यक्तिलाई यसले सहयोग गरेको छैन,’ उनले भने ।

बेलायत सरकारले दुई प्रकारको पुनर्वासको योजना ल्याई अफगानिस्तानबाट २५ हजार जनालाई उद्धार गरेको थियो । पहिलो अफगान नागरिकको पुनर्वास योजना हो, जसमा महिला, बालबालिका र धार्मिक अल्पसंख्यकलाई प्राथमिकतामा राखिएको छ । यस्तै दोस्रो योजना ब्रिटिस सेना र बेलायत सरकारका लागि काम गर्नेहरुका लागि थियो ।

अगस्ट २०२१ मा अफगानिस्तानको सत्तामा तालिबान आएपछि काबुलस्थित ब्रिटिश दूतावासलाई निष्क्रिय गरिएको छ भने त्यहाँस्थित कर्मचारीलाई फिर्ता गरिएको छ । हाल उक्त दूतावासको काम कतारको दोहाबाट सञ्चालन हुँदै आएको छ । बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर